प्रधानन्यायाधीश पराजुलीविरुद्ध प्रदर्शन

काठमाडौं, २ फागुन । कानुन व्यवसायी तथा कानुनका विद्यार्थीले प्रधानन्यायाधीश गोपाल पराजुलीबिरुद्ध न्यायपरिषदको सचिवालय अगाडि प्रदर्शन गरेका छन् । उनीहरुले प्रधानन्यायाधीशमाथिको विवाद निरुपण नभई उनको अध्यक्षतामा न्यायपरिषदको बैठक डाँक्न नहुने भन्दै प्रदर्शन गरेका हुन् ।
उनीहरुले प्रधानन्यायाधीश गोपाल पराजुलीमाथिको आरोप छानबिन हुनुपर्ने र त्यसअघि उनले नै न्यायाधीश नियुक्ती गर्ने परिषदको बैठकमा अध्यक्षता गर्नु गलत हुने भन्दै प्लेकार्डसहित प्रदर्शन गरेका हुन् । उनीहरुले विज्ञप्ति जारी गरी यस्तो गम्भिर आरोपमा समेत बार एसोसिएसन मौन बस्नु अनुचित हुने भन्दै ध्यानाकर्षण गराएका छन् । गत शुक्रबार असफल भएपछि प्रधानन्यायाधीशले दोस्रोपटक परिषदको बैठक डाँकेका हुन् । वरिष्ठतम न्यायाधीश एवं न्यायपरिषद सदस्य दीपकराज जोशी बिदामा रहेको अवस्थामै हतारहतार बैठक डाँकिएको हो ।
अर्कोतर्फ प्रधानमन्त्रीले राजिनामा दिएपछि परिषदका वरिष्ठतम सदस्य रहने कानुनमन्त्री यज्ञबहादुर थापाको पदावधि समेत आजै सकिँदैछ । सर्वोच्च अदालत स्रोतले भन्यो, ‘ताजा जनादेशको पालना हुनुपर्नेमा जनमतद्वारा अस्विकृत अधिकारीहरु सम्मिलित बैठकबाट निर्णय गराउन खोज्नु गलत हो ।’
स्रोतका अनुसार, न्यायाधिश नियुक्तीको विषय नै मुख्य एजेण्डा हो । प्रधानन्यायाधीश पराजुलीले कानूनमन्त्री थापा र परिषदका अर्का सदस्य रामप्रसाद सिटौलाको समर्थनमा ठाडो प्रस्ताव लगि न्यायाधीश नियुक्तीको प्रयास गरेको स्रोतले बतायो । हाल सर्वोच्च अदालतमा एक, उच्च अदालतमा ११ र जिल्ला अदालतमा ८ जना न्यायाधीशको पद रिक्त छ । जिल्ला अदालतकै लागि केही साताअघि खुला प्रतिस्पर्धा अन्तर्गत लिखित परिक्षा समेत भएको छ, जसबाट ३० जना नियुक्त गर्ने तयारी छ ।
परिषद स्रोतका अनुसार, हालसम्म नियुक्तीका बारेमा कुनै खाका र योजना बनेको छैन । केही महिनाअघि न्यायपरिषद दिवसका अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष समेत रहेका प्रधानन्यायाधीश गोपाल पराजुलीले यसअघिका प्रधानन्यायाधीश शुसिला कार्कीलाई व्यंग्य गर्दै ५ जना सदस्यहरुको सर्वसम्मतिले मात्रै न्यायाधीश नियुक्त गर्ने घोषणा गरेका थिए ।