सहिद सप्ताह सुरुः जनयुद्धका सहिदहरुको सम्झना गरिँदै

२०७४ फाल्गुन १४ गते, सोमबार

काठमाडौँ, १४ फागुन । अाजबाट सहिद सप्ताह सुरु भएको छ । माओवादीले फागुन १४ देखि २१ गतेसम्म जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलसहित सहिदहरुको सम्झनामा विभिन्‍न कार्यक्रम गर्दै अाएको छ । जनयुद्ध सुरु भएको दुई हप्तामै अर्थात अाजकै दिन प्रहरीले ११ वर्षीय विद्यार्थी दिलबहादुर रम्तेलको हत्या गरेको थियो । गोरखा पन्द्रङ्‍गका रम्तेल प्रहरीले गिरफ्तार गरेका शिक्षकलाई छुटाउन धर्नामा सहभागी भएका थिए ।
जनयुद्ध घोषणा भएपछि पहिलो पटक राज्यपक्षले रम्तेलको हत्या गरेको थियो । त्यसैले तत्कालिन नेकपा (माओवादी)ले त्यतिबेलै प्रथम सहिद घोषणा गरेको थियो । प्रथम सहिद रम्तेलसँगै जनयुद्धका सहिदहरुको सम्झनामा माओवादीहरुले फागुन १४ देखि २१ गतेसम्म विभिन्‍न कार्यक्रम गर्दै अाएका छन् ।
माओवादी नेताहरुले सहिदको सपनालाई पूरा गर्ने बाटो छोडेको र सम्झना केवल औपचारिकतामा मात्रै सिमित राखेको भन्दै अालोचना भइरहेको छ ।
नेपाल कम्युनिस्ट पार्टी, माओवादी केन्द्र र कान्तिकारी माओवादी निकट विद्यार्थी संगठनहरुले प्रथम सहिद दिलबहादुर रम्तेलको सम्झनामा अाज विविध कार्यक्रमको अायोजना गरेका छन् । त्यसैगरी नेकपाले अाजबाट २१ गतेसम्म चरणवद्ध कार्यक्रमको घोषणा गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]