नेकपाको आपत्ति पछि सलमान खानको भ्रमण स्थगित

काठमाडौं, १८ फागुन । बलिउड अभिनेता सलमान खानकाे नेपाल आउने कार्यक्रम स्थगित भएको छ । नेपाल कम्युनिस्ट पार्टी निकट जनसांस्कृतिक महासंघकाे चेतावनीका कारण ओडीसी इन्टरनेसनले शो रद्द गरेको बताएकाे छ। भारतीय अभिनेता सलमान खान यही फागुन २६ गते नेपाल अाउँदै थिए । भारतीय सुपर स्टार सलमान खानले नेपाल नआउने सन्देश पठाएपछि आयोजकले शाे रद्द गरेकाे बताइएकाे छ ।
यसैबीच, अखिल नेपाल जनसास्कृति महासंघका महासचिव खेम थपलियाले भारतीय कलाकार सलमान खान नेपाल आउने कार्यक्रम स्थगित गरेकोमा धन्यवाद दिएका छन् “सलमान खानले नेपालको परिस्थिति र नेपाली जनताको मनोविज्ञान बुझेर कार्यक्रम स्थगित गरेका छन्, यसको लागि धन्यवाद” थपलियाले भने । उनले सलमान खान नेपालीका मनपर्ने कलाकार भएको तर रक्सीको प्रबन्र्धनमा आउन लागेकोले आफूहरुले विरोध गरेको बताए ।
सलमान खानको कार्यक्रम स्थगितको समाचार आएपछि महासचिव थपलियाले भने,“कार्यक्रम रोक्न थप कार्यक्रमको घोषणको तयारीमा थियौं, आयोजकले पनि बुद्धि पुर्याएर ठिकै गरे ।” कार्यक्रम स्थगगित हुनु रक्सी बिकाउन भारतीय संस्कृति भित्र्याउन चाहनेहरु पराजय भएको थपलियाको भनाई छ । उनले भारतीय संस्कृति भित्र्याउने गलत कार्यको विरुद्धमा गरिएको अान्दोलनमा साथ दिने सबैलाई धन्यवाद समेत दिएका छन् ।
रक्सीको प्रवर्धनको लागि ओडीसी इन्टरनेसनलले कार्यक्रमको आयोजना गर्न लागेको थियो । विरोध भएको भन्दै सलमान खानले आउन नसक्ने बताएपछि आयोजक कार्यक्रम स्थगित गर्न बाध्य भएका हुन् । कार्यक्रमको लागि सलमान खानसहित भारतीय कलाकारहरुले पाँच करोड लगिसकेको बताइएको छ । खानको उक्त टिममा १ सय १० जनाले उक्त पैसा अग्रिम भुक्तानी लिएका हुन् । कार्यक्रमको लागि करिब ५ हजारले टिकट किनेसकेका छन् । उक्त टिकटले भविश्यमा हुने कार्यक्रममा सहभागी हुन सकिने आयोजनक ओडिसीले जनाएका छ । तर, कार्यक्रम कहिले हुने भन्नेबारे कुनै टुंगो लागेको छैन । टिकट वापतको सर्वसाधारणको उक्त रकम गुम्ने खतरा छ । विहीबार भारतका चर्चित मिडियाहरुले नेपालमा विरोध भइरहेको भन्दै सलमानलाई कार्यक्रम स्थगित गर्न दवावमूलक समाचार सम्प्रेशण गरेका थिए । फागुन २६ गते सुरु हुने ‘दबंग द टुर’ नामक कार्यक्रममा सहभागी सलमान २५ गते काठमाडाैं अाउने समय तय भएको थियो ।