देशभरका शैक्षिक संस्था ठप्प

काठमाडौं, २० फागुन । अनेरास्वविययु (क्रान्तिकारी) को अाह्वानमा अाज देशभरका शैक्षिक संस्था बन्द भएका छन् । नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठनका महासचिव दिपेन्द्र चलाउनेसहित देशभर नेता-कार्यकर्तालाई रिहाइ नगरेको भन्दै विरोधस्वरुप हड्तालको घोषणा गरेको हो ।
यसअघि संगठनका अध्यक्ष पूर्णबहादुर सिंहले विज्ञप्ति जारी गरेर गिरफ्तार नेताहरुको रिहाइको माग गरेका थिए । सिंहले सम्मेलनको तयारीमा रहेका नेता-कार्यकर्ता विना कारण गिरफ्तार गरेको भन्दै शैक्षिक हड्ताल गर्ने चेतावनी दिएका थिए ।
सरकारले गिरफ्तार नेताहरुको रिहाइको गर्नुको साटो देशभरबाट थप गिरफ्तार गरिरहेको छ । त्यसैले पूर्व घोषित शैक्षिक हड्ताल जारी रहेको अखिल क्रान्तिकारीले जनाएको छ । “सामाजिक दलाल सत्ताको तुच्छ हर्कतले उनीहरुको दुहाई दिँदै आएको कथित लोकतन्त्रको मुकुण्डो धुजाधुजा भएको छ । गिरफ्तारीको आवरणमा राज्यद्वारा अपहरणमा पर्नु भएका संगठनका महासचिवलगयात सबै कमरेडहरुको विना शर्त यथाशिघ्र रिहाई गर्न जाडदार माग गर्दछौं । आमज विद्यार्थीको राजनीतिक र शैक्षिक अधिकार सुनिश्चितताको लागि संघर्षका कार्यक्रमहरु घोषणा गरिएको छ” अध्यक्ष सिंहले जारी विज्ञप्तिमा उल्लेख छ ।