पाकिस्तानी प्रधानमन्त्री अब्बासी नेपाल आउदै

काठमाडौं, २१ फागुन । पाकिस्तानी प्रधानमन्त्री साहिद खाकन अब्बासी ३० सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज अपराह्न काठमाडौं आउन लागेका छन् । आफ्नै विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लने अब्बासीलाई अर्थमन्त्री डा.युवराज खतिवडाले स्वागत गर्नेछन् । पाकिस्तानी प्रधानमन्त्री अब्बासीलाई सैनिक मञ्च टुंडिखेलमा गार्ड अफ अनर दिइने भएको छ । उनको सम्मानमा नेपाली सेनाको टुकडीले सम्मान गारथ अर्पण गर्ने छ ।
यसअघि त्रिभुवन विमानस्थलकै अति विशिष्ट कक्षमा दिइने यस्तो गार्ड अफ अरन अबदेखि सैनिक मञ्चमा दिइने भएको हो । सो सम्मान कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसमेतको सहभागिता रहनेछ । त्यसपछि पाकिस्तानी प्रधानमन्त्री अब्बासी होटल याक एण्ड यतीमा पुग्नेछन् । उनको सम्मानमा प्रधानमन्त्री केपी शर्मा ओलीले सोही होटलमा आयोजना गरेको रात्रीभोज सहभागी हुने कार्यक्रम छ । सोही होटलमा ओली र अब्बासीबीच भेटवार्तासमेत हुनेछ । भेटमा अब्बासीले ओलीलाई प्रधानमन्त्रीमा निर्वाचित भएकोमा बधाइ दिने र द्विपक्षीय हितका विषयमा छलफल हुने बताइएको छ ।
नेपालस्थित पाकिस्तानी दूतावासले जारी गरेको विज्ञप्तिमा आगामी सार्क सम्मेलन आयोजनाका विषयमा समेत प्रधानमन्त्री ओलीसँग छलफल हुने उल्लेख छ ।
पाकिस्तानी प्रधानमन्त्री अब्बासीले भोली बिहान १० बजे राष्ट्रपति विद्यादेवी भण्डारीसँग शितलनिवासमा भेटवार्ता गर्ने कार्यक्रम छ । भेटवार्तापछि उनी स्वदेश फर्कनेछन् । यसबीचमा पाकिस्तानी प्रधानमन्त्री अब्बासीले अन्य राजनीतिक दलका नेताहरुसँग पनि भेटवार्ता गर्ने बताइएको छ । तर भेटवार्ताको समय भने तय भएको छैन ।