’एमाले र माओवादी केन्द्र दुवै दक्षिणपन्थी’

काठमाडौँ , २५ फागुन । नेकपा (क्रान्तिकारी माओवादी) का उपाध्यक्ष सीपी गजुरेलले एमाले र माओवादी केन्द्र दुवै दक्षिणपन्थी पार्टी भएको ठोकुवा गरेका छन । उनले एमाले र माओवादी केन्द्र बीचको एकतालाई वामपन्थी एकता भनेर जनतामा भ्रम मात्र छरिएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी र नेकपा (क्रान्तिकारी माओवादी) निकट महिला सङ्गठनद्वारा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आयोजित सभालाई सम्बोधन गर्दै नेता गजुरेलले नेपालमा कम्युनिष्ट तथा वामपन्थी जनमत निकै ठूलो रहेकोले त्यसलाई भजाएर खान मात्र एमाले–माकेले कम्युनिष्ट तथा वामपन्थी साइनबोर्ड झुण्ड्याएको ठोकुवा गरे । एमाले र माके दुवैले माक्र्सवाद–लेनिनवाद–माओवादका आधारभूत सैद्धान्तिक मान्यताहरुलाई परित्याग गरेर दक्षिणपन्थी बुर्जुवा पार्टीमा परिणत भइसकेकोले उनीहरुबीचको गठबन्धन वा एकतालाई वामपन्थी भनेर भन्नु जनतालाई भ्रमित तुल्याउनु मात्रै भएको नेता गजुरेलको भनाई थियो ।
नेता गजुरेलले जनवादी गणतन्त्र ल्याउन जनयुद्ध भएको तर अहिले नाम मात्रको गणतन्त्र अाएको भन्दै यसले जनताको मुक्ति र अधिकारको लागि केही नगर्ने बताए । उनले शान्तिपूर्ण कार्यक्रममाथि दमन गर्ने गणतन्त्र जनताको हुन नसक्ने भन्दै मूर्दावाद भने । ”राजनीतिक सङ्गठनको खुल्ला सम्मेलनमा दमन र गिरफ्तार गरेर सम्मेलन नै हुन् दिएन । के यही हाे गणतन्त्र भनेको ? उनीहरुले लागु गर्ने गणतन्त्र भन्या त् यही गणत्रन्त्र रहेछ । जसले सामान्य रुपमा शान्तिपूर्ण तरिकाले आफ्नो सङ्गठनकाे सम्मेलन गर्न पनि नपाउउने त्यस्ताे खालकाे गणतन्त्र हाे भने यस्ताे गणतन्त्र मुर्दावाद ! यो गणतन्त्र हामीलाई चाहिँदैन । तिमीहरु नै लैजाऊ यो गणतन्त्र” नेता गजुरेलले भने । उनले नेकपामाथि भइरहेको सरकारी दमनको विरोध समेत गरे । नेता गजुरेलले नेपाली क्रान्तिलाई प्रतिक्रान्तिमा बदल्नेहरुले अब क्रान्तिको जरुरी नै नभएको भन्दै आफुहरुलाई उपदेश दिने गरेको समेत बताउँदै भने- ‘त्यसकारण यो प्रतिक्रान्तीबिरुद्ध नलडिकन हामीले जनयुद्धमा उठाएका एजेण्डाहरुलाई स्थापित गर्न सक्दैनौं ।’ यो प्रतिक्रान्तिका बिरुद्ध अर्को क्रान्ति आवश्यक भएको उनले बताए । सिंहदरबार र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा कुम्भ मेला लागेको भन्दै उनले त्यही मेलामा एमाले माओवादीहरु पदीय भागबण्डामा मात्र तल्लिन रहेको बताए । ”त्यो मेलामा कोहि पनि जनता सामेल भएका छैनन्, उनीहरुको भागबन्डाले आम जनताको जीवनमा केहि पनि फरक परेको छैन । हाम्रा सिमाना मिचिएकै छन् । दिनदाहाडै महिला र बालिकाहरुमाथि बलात्कार र हत्या भएकाे छ उनीहरुलार्इ कुनै मतलव छैन् । यहाँ अरबौंको भ्रष्टाचार भएको छ त्यसको मतलब छैन” गजुरेलले भने । उनले केपी र प्रचण्डलाई प्रतिक्रान्तिकारीहरू भन्दै अाफूहरुलाई उपदेश दिँदै दिने गरेको भन्दै नेपालमा फेरि क्रान्तिको अावश्यकता रहेको बताए ।
नेता गजुरेलले एमाले वामपन्थी नरहेको धेरै बर्ष भइसकेको परिस्थितिमा अलिकति बचेखुचेको राग पनि छोडेर माके पनि एमालेमै मिसिदाँ वामपन्थी हुन नसक्ने बताए। एमाले माओवादीहरु आफैले आफुलाई वामपन्थी भन्नु लज्जास्पद भएको उनको भनाई छ । एउटा दक्षिणपन्थी पार्टीमा अर्को दक्षिणपन्थी गएर मिसिंदैमा वामपन्थी हुन नसक्ने भन्दै गजुरेलले यो एकता वामपन्थी एकता नभएर प्रतिक्रियावादमा पतन भएका दक्षिणपन्थीहरुको एकता भएको र यो वामपन्थी गठबन्धन नभएर प्रतिक्रियावादी गठबन्धन भएको बताएका छन् । सम्बोधनको क्रममा गजुरेलले भने- ”अहिलेको सत्ता प्रतिक्रियावादी सत्ता हो, अहिलेको संबिधान पश्चगामी संबिधान हो । प्रतिक्रियावादी सत्तामा जानेहरु कहिँ दुनियाँमा वामपन्थी हुन्छ ? ‘कहिँ नभएको जात्रा हाँडिगाँउमा’ भन्याजस्ताे संसारमा कतै पनि यस्तालाई वामपन्थी भनिदैन तर नेपालमा चाहिँ वामपन्थी भनेपछि हाम्रा सोझा जनता झुक्किएर भ्रममा परे ।” प्रचण्डले गणतन्त्र, संघीयतालगाएत सबै व्यवस्था आफुले ल्याइदिएको भन्दै भाषण गर्दै हिडेको पनि नेता गजुरेलको आरोप छ । ‘नेपालको सामन्त दलाल नोकरशाही पुजीपति वर्गको सत्तालाई खारेज गरेर त्यसलाई समाप्त पारेर नेपालमा नयाँ जनवादी गणतन्त्र ल्याउने भन्याथ्यौ हामीले । उनले भने, -”यो लोकतान्त्रिक गणतन्त्र ल्याउने भनेकै थिएनौं । हामीले नेपालमा नयाँ जनवादी गणतन्त्र ल्याउने भन्या त लोकतान्त्रिक गणतन्त्र ल्याएर यहि हो गणतन्त्र भनेर भन्ने कस्तो बदमास हेर्नुस त् ठग !”
नेता गजुरेलले गत फागुन ६ गते विराटनगरमा नेकापा सम्बद्ध युवा सङ्गठनको सम्मेलन बिथोल्न नेता कार्यकर्तालाई गिरफ्तार गरिएको प्रसङ्ग जोड्दै भने,- ”हिजो जसले क्रान्तिको नेतृत्व गरे अहिले उनै सडेका, कुहिएका र गन्हाएक प्रतिक्रियावादीले साम्राज्यवादी र विस्तारवादीको बन्दुक बोकेर क्रान्तिकारीहरुलाई दबाउने ठेक्का लिएका छन् ।”
नेपाल कम्युनिष्ट पार्टी र नेकपा (क्रान्तिकारी माओवादी) निकट महिला सङ्गठनद्वारा आयोजित सभा सुरु हुनुअघि शान्तिवाटिकाबाट र्याली निकालिएको थियो । महिला नेत्रिहरुसहितको र्याली पुरानो बसपार्क, शहीद गेट, सुन्धारा, न्युरोड गेट, वीर हस्पीटल हुँदै शान्ति बाटिकामा पुगेर सडकसभामा परिणत भएको थियो । महिलाहरु अन्तर्रा्ष्ट्रिय श्रमिक महिला दिवश भव्य रुपले सफल पारौं, महिलाहरुमाथि हुने सम्पूर्ण उत्पीडनको विरुद्ध संघर्ष गरौं, समान कामको समान ज्याला लागु गर, पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गर, राज्यसत्ताको सम्पूर्ण अंगहरुमा विशेष अधिकार सहित समानुपातिक प्रतिनीधित्वको ग्यारेण्टी गर, पैत्रिक सम्पत्तिमा विना सर्त समान अधिकारको कानुन बनाई लागु गर, चेलीबेटी बेचविखन पूर्ण रुपमा बन्द गर, वैदेशिक रोजगारीको नाउमा हुने मानव तस्करी बन्द गर, महिलाहरु माथि हुने हत्या, हिंसा, बलत्कार बन्द गर, आमाको नाउमा नागरिकता पाउने कानुनी व्यवस्थालाई सर्वशुलभ रुपमा लागु गर, वैदेशिक रोजगारीमा गएका आफ्ना नागरिकहरुको पेशागत र जीउ धनको सुरक्षाको ग्यारेण्टी गर, वैदेशिक रोजगारीको क्रममा आर्थिक, शारीरिक र मानसिक उत्पीडनमा परेका महिलाहरुलाई अविलम्ब उद्धार गर, विभिन्न देशका वेश्यालयहरुमा बेचिएका नेपाली चेलीहरुको अविलम्ब स्वदेश फिर्ता गरी सामाजिक रुपमा पूर्नस्थापना गर, बालिकाहरुमाथि हुने गरेका बलत्कारका पाशविक घटनाहरुको छानवीन गरी अपराधीलाई हदै सम्मको कारवाही गरलगायतका नाराहरु लेखिएको प्लेकार्ड, ब्यानर र झण्डा बोकेर उत्साहका साथ् र्यालीमा सहभागी भएका थिए ।
उक्त सभालाई नेकपाकी महिला नेतृ सरला रेग्मी लगायतका नेताहरुले सम्बोधन गरेका छन् । नेतृ लक्ष्मी मुडभरीले अध्यक्षता गरेको उक्त सभाको सञ्चालन नेतृ धिरिन्द्रा उपाध्याय ‘भृकुटी’ गरेकी थिइन् । सयौं महिलाहरुको सहभागिता रहेको कार्यक्रममा बक्ताहरुले संबिधानमा सुनिश्चित गरिएको ३३ प्रतिशतअधिकार समेत महिलाहरुले पाउन नसकेको गुनासो गरेका थिए ।