‘बोक्सी’ भन्दै कुटपिट गर्नेलाई जनकारबाही हुने

काठमाडौं, २८ फागुन । नेपाल कम्युनिस्ट पार्टी कैलालीले ‘बोक्सी’ आरोपमा रोमा चौधरीलाई मरणासन्न हुनेगरी कुटपिट गरिएको घटनाको घोर निन्दा र भत्सर्ना गरेको छ । नेकपाका कैलाली जिल्ला इन्चार्ज महान र सेक्रेटरी अमरले विज्ञप्ति जारी गरेर उक्त घटनाको घोर निन्दा र भत्सर्ना गरेक हुन् । “कथित भोले बाबा रामबहादुर चौधरी र पार्वती भनिने स्मारिका चौधरीलगायत दोषीहरु र रमिते बन्नेलाई कडा कारवाहीको माग गर्दै सत्यतथ्य छानविन गर्न सरोकारवाला पक्ष मानव अधिकारवादी, नागरिक समाज, महिला अधिकारर्की र पत्रकार जगतको ध्यान आकर्षण गर्दछौं” विज्ञप्तिमा भनिएको छ । पीडित रोमा चौधरीको स्वास्थ्य लाभको कामना गर्दै उपचार र जीवन रक्षाको माग समेत गरिएको छ । नेकपा कैलालीले उक्त नगरपालिकाका मेयरले गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै राजिनामा माग समेत गरेको छ । “गैरजिम्मेवार अभिव्यक्ति दिने भ्रष्ट मेयर ममताप्रसाद चौधरीलगायत जनप्रतिनिधिको तुरुन्तै राजिनामा माग गर्दछौं, यदि बेवास्ता गरेमा जनकारवाही गर्न बाध्य हुने ब्यहोरा समेत यसै विज्ञप्तिमार्फत जानकारी गर्दछौं” विज्ञप्तिमा भनिएको छ ।