ओली र प्रचण्डविरुद्ध ‘वारेन्ट’ जारी , १५ दिनभित्र जनअदालतमा उपस्थित हुन आदेश

२०७४ चैत्र १४ गते, बुधबार

काठमाडौं, १४ चैत । नेपाल कम्युनिस्ट पार्टीले एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध ‘वारेन्ट’ जारी गरेको छ । नेकपाको केन्द्रीय जनअदालतले ओली र प्रचण्डका नाममा जनअदालतमा मुद्दा परेको जानकारी गराउँदै १५ दिने ‘वारेन्ट’ जारी गरेको हो । उक्त वारेन्ट केन्द्रीय जनआदलतका प्रमुख प्रकाशको नामबाट जारी भएको छ । मंगलबार सार्वजनिक भएको वारेन्टपत्रमा सार्वजनिक स्थानमा टाँस भएको मितिले १५ दिनभित्र केन्द्रीय जनअदालत रोल्पामा उपस्थित हुन सूचित गरिएकाे छ । तोकिएको समयमा उपस्थित नभएमा केन्द्रीय जनपरिषद नेपालको नीति नियम अनुसार कारबाही हुने कुराको जानकारी समेत गराइएको छ ।
वारेन्टपत्रमा प्रचण्ड र ओलीविरुद्ध परेको मुद्दाको जानकारी पनि गराइएको छ । दुबै नेताविरुद्ध फरक-फरक मुद्दा परेको जनअदालतले जनाएको छ । वारेन्ट पत्रमा अनुसार प्रधानमन्त्री ओलीले २०७४ फागुन ६ गते विराटनगरमा हुन लागेको राष्ट्रिय युवा जनस्वयमंसेवकको सार्वजनिक कार्यक्रममा मोरङ विराटनगरतर्फ जाँदै गर्दा नेकपाका नेताहरु हेमन्तप्रकाश ओली ‘सुदर्शन’ एवं पदम राई र पार्टी सम्बद्ध थुप्रै युवालाई विराटनगरमा गिरफ्तार गरी, झुट्ठा मुद्दा लगाएको र २०७४ चैत ५ गते नेकपाका कोशी ब्युरोका इन्चार्ज किरण राईलगायत थुप्रै नेतालाई बिनाकारण गिरफ्तार गरी धनकुटामा थुनामा राखेको भन्दै त्यसका विरुद्धमा मुद्दा परेको वारेन्टमा उल्लेख छ ।
यसैगरी प्रचण्डका विरुद्ध जारी गरिएको वारेन्ट पत्रमा महान जनयुद्धको शान्ति प्रक्रियामा आएपछि क्रान्तिप्रति विश्वासघात गरेको, हतियार दुस्मनलाई बुझाएको र जनमुक्ति सेनालाई विगठन गरेको उल्लेख छ । त्यस्तै माथिल्लो कर्णाली विद्युत आयोजना, अरुण तेस्रोलगायत विभिन्न सम्झौता भारतीय कम्पनीसँग गर्ने गराउने कार्यमा संलग्न रही र राष्ट्रहितविरुद्ध कार्य गरेको, कथित स्थानीय निकायको चुनावमा कालीकोट जिल्लाको माल्कोटमा स्थानीय धनरुप बटाला र कैलालीका चन्द्रबहादुर सिंह सन्राइज’समेतको हत्यामा गोली चलाउन आदेश दिनु भन्ने निर्देशन गरेको । २०७४ चैत ५ गते नेकपाका कोशी ब्युरोका इन्चार्ज किरण राईलगायत थुप्रै नेतालाई बिनाकारण गिरफ्तार गरी थुनामा राखेको भन्दै त्यसका विरुद्ध मुद्दा परेको बताइएको छ ।
प्रधानमन्त्री ओली र प्रचण्डविरुद्ध केन्द्रीय जनअदालतले जारी गरेको वारेन्टको पूर्ण बिबरण यस प्रकार रहेको छ –
प्रधानमन्त्री ओलीविरुद्ध जारी भएको वारेन्ट-
मोहनप्रसाद ओलीको छोरा झापा स्थायी ठेगाना भई हाल भक्तपुर जिल्ला, सूर्यविनायक नगरपालिका–२ बाल्कोट बस्ने तपाईँ खड्गप्रसाद ओलीका विरुद्धमा केन्द्रीय जनअदालत, रोल्पामा निम्न उल्लेखित मुद्दाहरु परेको हुँदा सो सम्बन्धमा आवश्यक खनुसन्धान भइरहेको र तपाईँसमेतलाई बुझ्नु पर्ने भएकोले यो सूचना प्राप्त गरेको वा सार्वजनिक स्थानमा टाँस भएको मितिले १५ दिनभित्र केन्द्रीय जनअदालत रोल्पामा उपस्थित हुनका लागि सुचित गरिन्छ । तोकिएको समयमा उपस्थित नभएमा केन्द्रीय जनपरिषद् नेपालको नीति नियम अनुसार हुने कुराको जानकारी समेत गराइन्छ ।
तपशील
१. २०७४ फागुन ६ गते विराटनगरमा हुन लागेको राष्ट्रिय जनस्वयमसेवकको सार्वजनिक कार्यक्रममा मोरङ विराटनागरतर्फ जाँदै गर्दा नेकपाका नेताहरु हेमन्तप्रकाश ओली ‘सुर्दशन’ एवं पदम राई र पार्टी सम्बन्द्ध थ्रुपै युवाहरुलार्य विराटनगरमा गिरफ्तार गरी झुट्टा मुद्दा लगाएको ।
२. २०७४ चैत्र ५ गते नेकपाका कोशी ब्यूरोका इन्चार्ज किरण राईलगायत थ्रुपै नेताहरुलाई बिना कारण गिरफ्तार गरी धनकुटामा थुनामा राखेको ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई ओलीभन्दा धेरै मुद्दा परेको बताइएको छ । शान्तिप्रक्रियामा आएपछि क्रान्तिप्रति विश्वाघात गरेको, हतियार बुझाएको, जनयुक्ति सेना विघठन गरेको, माथिल्लो कर्णाली, अरुण तेस्रो जनविद्युत आयोजन भारतलाई दिने कार्यमा संलग्न भएको वारेन्टमा उल्लेख छ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डविरुद्ध जारी भएको वारेन्ट –
मुक्तिराम दाहालको छोरा चितवन जिल्ला भरतपुर नगरपालिका वडा १४ शिव नगर स्थायी ठेगाना भई हाल ललितपुर जिल्ला खुमलटार बस्ने तपाईँ पुष्पकमल दाहाल ‘प्रचण्ड’ का विरुद्धमा केन्द्रीय जनअदालत, रोल्पामा निम्न उल्लेखित मुद्दाहरु परेको हुँदा सो सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको र तपाईँसमेतलाई बुझ्नु पर्ने भएकोले यो सूचना प्राप्त गरेो वा सार्वजनिक स्थानमा टाँस भएको मितिले १५ दिनभित्र केन्द्रीय जनअदालत रोल्पामा उपस्थित हुनका लागि सुचित गरिन्छ । तोकिएको समयमा उपस्थिति नभएमा केन्द्रीय जनपरिषद् नेपालको नीति अनुसार हुने कुराको जानकारी समेत गराइन्छ ।
तपशील
१. महान् जनयुद्धको शान्तिप्रक्रियामा आएपछि क्रान्तिप्रति विश्वासघात गरेका, हतियार दुश्मनलाई बुझाएको र जनमुक्ति सेनालाई विघठन गरेको ।
२. माथिल्लो कर्णाली विद्युत आयोजना, अरुण तेस्रो लगायत विभिन्न सम्झौता भारतीय कम्पनीहरुसँग गर्ने गराउने कार्यमा संलग्न रही र राष्ट्रहित विरुद्ध कार्य गरेको हो ।
३.कथित स्थानीय निकायको चुनावमा कालिकोट जिल्लाको माल्कोटमा स्थानीय धनपरुप बटाला र कैलालीका चन्द्रबहादुर सिंह ‘सनसाइज’ समेतको हत्यामा गोली चलाउन आदेश दिनु भन्ने निर्देशन गरेको ।
४. २०७४ चैत्र ५ गते नेकपाका कोशी ब्यूरो इन्चार्ज किरण राईलगायत थ्रुपै नेताहरुर्ला बिना कारण गरिफ्तार गरी थुनामा राखेको ।

प्रतिक्रियाहरु

[anycomment]