क्रसर उद्योगमा आगजनी र तोडफोड

काठमाडौं, १ वैशाख । काभ्रेको नमोबुद्ध नगरपालिका ६ चौकीडाँडामा रहेको ब्लु साइन स्टोन क्रसर उद्योगमा अज्ञात समुहले आगजनी तथा तोडफोड गरेको छ ।
आगलागीबाट क्रसरमा भएको २ वटा स्काभेटर, एउटा जेसीबी, ४ वटा ट्रिपर र एउटा जेनेरेटर जलेर नष्ट भएको छ भने अन्य ६ वटा ट्रिपर तोडफोड भएको छ ।
काँग्रेस नेता कुन्साङ लामाले सञ्चालन गरेका उद्योगमा ८÷९ जनाको समुहले पेट्रोल छर्केर आगजनी गरेको जिल्ला प्रहरी प्रमुख एसपी सहकुल थापाले जानकारी दिए । सञ्चालक कुन्साङ लामाले केही हतियारधारीहरु आएर क्रसरमा भएको आफ्ना कर्मचारीहरुलाई एउटा कोठामा थुनेर पेट्रोल छर्केर आगजनी गरेको जानकारी दिए ।आगजनी र तोडफोडबाट झण्डै १० करोडको क्षति भएको जनाइएको छ ।
उता ब्लु साईन रोडा ढुंगा उद्योग जाने बाटोमा राखिएको बम भने नेपाली सेनाले निष्क्रिय पारेको छ । चौकीडाँडा –सिपाली जाने बाटोको प्रवेशद्धार चौकीडाँडा, दाप्ता खोलामा भेटिएको प्रेसरकुकर बम सेनाले निष्क्रिय पारेको एसपी थापाले जानकारी दिए । अहिलेसम्म घटना कसले र किन घटायाभन्नेबारे थाहा नभएको र अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ