बुढीगंगा नगरपालिका कार्यालयमा बमसहित तालाबन्दी

काठमाडौं, २ वैशाख । बजुराको बुढीगंगा नगरपालिकाको कार्यालयमा बाल्टिन बमसहित ताला लगाइएको छ । जिल्लाको बाह्रबीसमा पर्ने उक्त नगरपालिकाको कार्यालयको ढोकामा बमसहित ताला लगाएको स्थानीयले जानकारी दिएका छन् । कार्यालयको मुल ढोकामा बमसँगै ताला लगाइएको छ । विवादका कारण लामो समयसम्म नगर बैठक बस्न सकेको थिएन । काँग्रेस र एमालेबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिको आपसी विवादकै कारण विकास निर्माणका काम ठप्प भएपछि नगरबासीले विरोध गर्दै आएका थिए ।
नेपाली काँग्रेसबाट मेयरमा दिपक शाह निर्वाचित भएपनि अन्य अधिकांश पदमा एमालेले जितेको छ । एमालेसँग बहुमत भएकै कारण काम गर्न नदिएको काँग्रेसले आरोप लगाउँदै आएको थियो । विषयगत समिति निर्माणमा काँग्रेस र एमालेबीच सहमति नहुँदा नगर बैठक बस्न सकेको थिएन । कुल ६ वटा विषयगत समितिमध्ये ५ एमाले र १ काँग्रेसले लिने सहमति भएपछि चैत्र २५ र २६ गते बैठक बसेको थियो । काँग्रेस र एमालेले बजेटमा पनि भागबण्डा गरेको भन्दै स्थानीय विरोध गर्दै आएका थिए ।