एमाले र माओवादी केन्द्रबीचको बैठक निष्कर्षहीन

२०७५ बैशाख ४ गते, मंगलवार

काठमाडौं, ४ वैशाख । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता संयोजन समितिको बैठक निष्कर्षविहीन भएको छ । बैठकमा दुई पार्टी एकीकरणका लागि अहिलेसम्म नमिलेका विषय टुंग्याउन छलफल भएपनि सहमति बन्न नसकेको हो । तत्काललाई अब वैशाख ९ गते दुई पार्टीबीच एकता घोषणा नहुने भएको नेताहरुले बताएका छन् ।
एमाले र माओवादी केन्द्रबीच मुख्यतः भागबन्डालगायतका विषयमा विवाद भएको छ । माओवादी केन्द्रले आधा भाग आफूले पाउनुपर्ने अडान राखेको थियो । नमिलेका विषयमा नेताहरुबीच झन्डै चार घन्टा छलफल भयो । दुई पार्टीबीच नमिलेका विवादित विषयमा सहमति गर्ने जिम्मा दुवै पार्टीका अध्यक्षलाई दिइएको छ भने दुवै अध्यक्षले परिर्माजनसहितको अन्तिम प्रतिवेदन एकता संयोजन समितिमा राख्नेछन् । बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीसहित नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव ईश्वर पोखरेल, नेता वामदेव गौतम तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा सहभागी थिए ।
एकताका लागि अधिकांश विषय कार्यदलले टुंग्याएपनि केही विषयमा भने अझै सहमति बन्न नसकेको हो । चुनाव चिह्न, जनयुद्ध शब्द र केन्द्रीय समितिको संख्यामा हिस्सेदारी विषयमा कुरा मिलेको छैन । कार्यदलले सहमति गर्न नसकेपछि एकता संयोजन समितिबाटै टुंगो लगाउन नेताहरुले बैठक गरेका हुन् । एमालेले एकीकृत पार्टीको चुनाव चिह्न सूर्य राख्नुपर्ने अडान राखेको छ भने माओवादी केन्द्रले त्यसलाई स्वीकारेको छैन ।
त्यस्तै, एकीकृत पार्टीको बन्ने २९९ सदस्यीय कार्यसमितिमा माओवादी केन्द्रले बराबरीको हिस्सेदारी खोजेको छ । कार्यदलले २९९ सदस्यीय कार्यसमिति बनाउने सहमति गरे पनि कुन दलको कतिजना रहने टुंग्याएको छैन । त्यसैगरी, एकीकृत पार्टीको विधान र राजनीतिक दस्तावेजमा जनयुद्ध शब्द व्याख्यासहित राख्नुपर्ने अडान माओवादी केन्द्रले राख्दै आएको छ ।

प्रतिक्रियाहरु

[anycomment]