आजको आवश्यकता, जनपक्षीय पत्रकारिता

काठमाडौं, १५ बैशाख । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य सन्तोष बुढाले ‘आजको आवश्यकता जनपक्षीय पत्रकारिता’ भएको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी निकट क्रान्तिकारी पत्रकार संगठनको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता बुढाले सो कुरा बताएका हुन् । उनले राजनीतिक क्षेत्रले गर्न नसकेको कामसमेत पत्रकारिता क्षेत्रले गर्न सक्ने भन्दै पत्रकार जहिले पनि जनताको पक्षमा उभिनुपर्ने बताए । नेता बुढाले पछिल्लो समयमा पत्रकारिता क्षेत्रमा बढ्दै गएको गोयबल्स शैलीको विषयमा चिन्ता जनाउँदै पत्रकार जहिले पनि जनताको पक्षमा, प्रगतिको पक्षमा र अग्रगामी पक्षमा लाग्नुपर्ने बताए । वर्गीय समाजको अन्त्य नभएसम्म पत्रकारितामा पनि वर्गको अन्त्य हुन नसक्ने ठोकुवा गर्दै नेता बुढाले अग्रगामी विचार र सत्यतथ्य समाचार सम्प्रेषण गर्न पत्रकार कहिले पछाडि हट्न नहुने बताए ।
क्रान्तिकारी पत्रकार संगठनको तेस्रो राष्ट्रिय सम्मेलन उद्घाटनको सो समारोहलाई विभिन्न पत्रकार संघ–संगठनका नेताले सम्बोधन गर्दै सम्मेलन सफलताको लागि शुभकामना दिएका थिए । यसरी शुभकामना दिनेहरुमा आदिवासी पत्रकार महासंघका लक्की चौधरी, क्रान्तिकारी पत्रकार महासंघका इन्द्र राउत, प्रगतिशील पत्रकार संघका नारायण शर्मा, मधेशी पत्रकार संघका मोहन सिंह, प्रेस सोसाइटीका केशव आचार्य, आइफजेका उज्वल आचार्य, प्रेस सेन्टरका बलराम थापा, प्रेस युनियनका अजयबाबु शिवाकोटी, प्रेस चौतारीका विष्णुहरि सुवेदी, पत्रकार महासंघका महासचिव रमेश बिष्ट र वरिष्ठ पत्रकार विनोद ढुङ्गेललगायतका रहेका थिए । कार्यक्रममा क्रान्तिकारी पत्रकार संगठनले जनपक्षीय पत्रकारिता गर्ने पत्रकारहरुलाई सम्मानसमेत गरेको थियो । यसरी सम्मानित हुनेहरुमा झपेन्द्र वैद्य, दिपेन्द्र रोकायालगायतका रहेका थिए भने कृष्णसेन इच्छुक पत्रकारिता पुरस्कार क्रान्तिकारी पत्रकार संगठनका उपाध्यक्ष दीपेन्द्र रावललाई प्रदान गरिएको थियो ।
क्रान्तिकारी पत्रकार संगठनका अध्यक्ष प्रभात चलाउनेको सभापतित्वमा भएको सो उद्घाटनको समारोहको उद्घोषण उपाध्यक्ष दीपेन्द्र रावलले गरेका थिए ।