अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको छैटौं राष्ट्रिय सम्मेलन सम्पन्न

२०७५ बैशाख २१ गते, शुक्रबार

काठमाडौं, २१ बैशाख । अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको छैटौं राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । नेपाल कम्युनिष्ट पार्टी निकट सो महासंघको सम्मेलनले अमर झाक्री अध्यक्ष र गोकुल दाहाल महासचिब रहने गरी ४१ सदस्यीय केन्द्रीय कमिटी पनि चयन गरेको छ । १२९ औँ मे दिवसको अवसर पारेर मङ्गलबारदेखि कास्कीको पोखरामा आयोजित उक्त सम्मेलनको उद्घाटन सत्रमा नेकपाका सल्लाहकार समितिका अध्यक्ष ईश्वरीप्रसाद दाहाल ‘असारे काका’लाई महासंघको संस्थापक अध्यक्षका रुपमा दोसल्ला ओढाएर सम्मान गरिएको थियो । उनलाई नेकपाका स्थायी समिति सदस्य एवं केन्द्रीय जनसरकार प्रमुख सन्तोष बुढामगर ‘विषम’ ले सम्मान गरेका थिए ।
आफू सम्मानित भएपछि मन्तव्य राख्ने क्रममा असारे काका शुरुमा नै भावुक बनेर रोएका थिए । २०४५ सालमा मकवानपुर जिल्लाको मनहरि गाविसको ज्यामिरेमा रहेको एक फुसले छाएको घरमा आफूहरुले भूमिगत तरीकाले अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ गठन गरेको कुरा सम्झिंदै भावुक बनेर उनी रोएका थिए । ७७ वर्षको वृद्ध अवस्थामा आफू सम्मानित हुँदा गौरवान्वित बनेको बताएका असारेकाकाले आफू अन्तिम समयसम्म लडिरहने प्रतिवद्धता व्यक्त गरेका थिए । उनले आफ्नो नातिको उमेरको विप्लवको नेतृत्वमा नेपालमा वैज्ञानिक समाजवादी व्यवस्था प्राप्तिका लागि हुने संघर्ष सफल हुने विश्वास व्यक्त गरे । उनले आफूभन्दा ६ महिनापछि कम्युनिष्ट पार्टीको केन्द्रीय समितिमा पुगेका प्रचण्डले नेपालमा चलेको वर्गीय युद्धलाई एमालेमा लिएर समाप्त गरेकोमा रोष प्रकट गरेका थिए ।
सोही कार्यक्रममा नेकपाका स्थायी कमिटी सदस्य एवं केन्द्रीय जनसरकार प्रमुख सन्तोष बुढामगर विसमले गरीब, किसान, मजदूरको पक्षमा काम गर्नुपर्ने संसदीय व्यवस्थाले मजदूरहरुको श्रम शोषण गरिरहेको, जग्गा दिनुको सट्टा बस्तीमा डोजर लगाएर बेघरबार बनाएको आरोप लगाउँदै संसदीय व्यवस्थाको भ्रममा नपर्न आग्रह गरेका थिए । उनले यी सबै समस्या समाधानका लागि वैज्ञानिक समाजवादी व्यवस्था आउनुपर्ने र त्यसका लागि अन्तिम पटक एकपटक सबै एकजुट भएर लड्नुपर्ने आवश्यकता औंल्याउँदै त्यसका लागि सबैलाई एकजुट हुन आव्हान गरेका थिए ।
सोही कार्यक्रममा नेकपाकी पोलिटब्युरो सदस्य तथा जनप्रतिनिधिसभाकी सभामुख उमा भुजेल ‘शिलु’, नेकपाका धौलागिरि इन्चार्ज विप्लव, अखिल नेपाल महिला संघ (क्रान्तिकारी) की केन्द्रीय अध्यक्ष बन्धु चन्द, तमुवान राष्ट्रिय मुक्तिमोर्चाका प्रमुख किसानसिंह गुरुङ, अखिल क्रान्तिकारीका अध्यक्ष चिरञ्जीवी ढकाल, अखिल नेपाल किसान सङ्घ क्रान्तिकारीकी प्रतिमा बजगाईंलगायतको उपस्थिति थियो ।
कार्यक्रमको उद्घाटनपूर्व ‘एकीकृत जनक्रान्ति जिन्दावाद ! राष्ट्रघात, जनघात, भ्रष्टाचार र मजदुर आन्दोलन उत्पीडनका विरुद्ध हाम्रो अभियान ! एकीकृत जनक्रान्तिमार्फत वैज्ञानिक समाजवाद प्राप्तिका लागि छैटौँ राष्ट्रिय सम्मेलन !’ नाराका साथ सम्मेलन सुरु हुनुपूर्व पोखरा सहरका विभिन्न ठाउँबाट जुलुस निकालिएको थियो । जुलुसमा हजारौँ प्रतिनिधि, पर्यवेक्षक र जनता सहभागी भएका थिए ।

प्रतिक्रियाहरु

[anycomment]