संचारगृहभित्र प्रहरी , अन्तरवार्ता दिँदादिँदै नेता गिरफ्तार

काठमाडौं, ३० बैशाख । कैलालीको लम्कीस्थित ‘रेडियो पश्चिम आवाज’मा अन्तरवार्ता दिँदै गरेका नेपाल कम्युनिस्ट पार्टीका नेता दिलबहादुर साउदलाई प्रहरीले गिरफ्तार गरेको छ । नेकपा कैलालीका सचिवालय सदस्य समेत रहेका नेता साउदलाई आज अन्तरवार्ता दिँदादिँदै स्टुडियोभित्रै हतियारसहित प्रवेश गरेको प्रहरी टोलीले गिरफ्तार गरेको थियो । प्रहरी हतियारसहित संचारगृहभित्र प्रवेश गरेको भन्दै कैलालीको संचारकर्मीहरुले तथा मानव अधिकारकर्मीले विरोध जनाएका छन् । उनीहरुले प्रहरीको उक्त कार्य निन्दनीय भएको बताए ।
त्यसैगरी अछामबाट दुई जनालाई प्रहरीले गिरफ्तार गरेको छ । नेकपाका स्थानीय कार्यकर्ता लोकेन्द्र रावल र कर्मचारी टेकबहादुर शाहीलाई प्रहरीले आइतबार गिरफ्तार गरेको हो । उनीहरुलाई बाटोमा हिडिरहेको अवस्थामा गिरफ्तार गरेको नेकपाल अछामले जनाएको छ । तीनै जनाको गिरफ्तारप्रति नेकपा सेती ब्यूरोले आपत्ति जनाउँदै रिहाईको माग गरेको छ । ब्यूरो इन्चार्ज सिकन्दरले बाटोमा हिडिरहेको अवस्थामा र संचार गृहभित्रै प्रवेश गरी गिरफ्तार गरेर सरकारले ज्ञानेन्द्रकालिन समयको झल्को दिएको भन्दै आपत्ति जनाएका छन् ।