भुमाफियामाथि जनकारवाही !

काठमाडौं, १५ जेठ । नेपाल कम्युनिस्ट पार्टीले भुमाफिया चिन्तामाणी पाण्डेमाथि जनकारवाही गरेको छ । पार्टीको जनसरकारले सार्वजनिक जग्गा कब्जा गरेर सुकुम्बासीको उठिबास लगाएको भन्दै भुमाफिया चिन्तामाणी पाण्डेमाथि चेतावनी स्वरुप सांकेतिक रुपमा जनकारवाही गरेको हो । जिल्ला जनपरिषद् रुपन्देहीले बुटवल उपमहानगरपालिका–१७ रानिगन्जमा सार्वजनिक जग्गा कब्जा गरेर पाण्डेले प्लटिङको तयारी गरेका थिए । उक्त जग्गामा चारैतिर पर्खाल लगाएका थिए । जनपरिषद्का कार्यकर्ताले सोमबार राति उक्त पर्खाल भत्काएका छन् । सोही ठाउँमा जनपरिषद्को नाममा पर्चा पनि भेटिएको छ । उक्त पर्चामा पाण्डेले सार्वजनिक जग्गा कब्जा गरेर आफ्नो नाममा गरेको, सुकुम्बासीको उठिबास लगाएर उनीहरुका घर जग्गा हडप्ने गरेको, केही व्यक्तिहरुसँग मिलेर सुकुम्बासीलाई हट्न दवाव दिँदै आएको उल्लेख छ ।
यस्तो छ पर्चा-
१. भूमाफिया तथा सुदखोर दलाल चिन्तामाणी पाण्डेले सार्वजनिक जग्गा कब्जा गरी आफ्नो नाममा बनाएको ।
२. बुटवल उपमहानगरपालिका –१७ रानीगन्जमा वर्षौदेखि बस्दै आएका सुकुम्बासीलाई उठिबास लगाएर उनिहरुको घर, जग्गा समेत हडप्ने गलत कार्य गरेको ।
३. कथित जनप्रतिनिधि र टोल विकास समितिका केही व्यक्तिहरुलाई प्रभावमा पारी सुकुम्बासीलाई तुरुन्त हट्नु भन्दै अनावश्यक दवाव दिएको ।
४. मालपोत र नापी कार्यालयका भ्रष्ट कर्मचारीसँग मोटो रकममा मिलेमतो गरी विभिन्न ठाउँमा जनता तथा सामाजिक संघ संस्थाका जग्गा अतिक्रमण र किर्ते गरी आफनो नाममा बनाएको र जनताले व्यापक गुनासो गर्दै आएको ।