‘ गिरफ्तार नेताकार्यकर्तालाई तत्काल रिहा गर’

काठमाडौं, १६ जेठ । अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीले आफ्नो सङ्गठनका नेताकार्यकर्तालाई बिनाकारण गिरफ्तार गरिएको भन्दै तत्काल र बिनासर्त रिहाइको माग गरेको छ । अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीकी मेची ब्युरो संयोजक सीता थापालाई पाँचथरको फिदिमस्थित आफ्नै घरबाट बच्चा स्कुल पु-याउन गइरहको बेला प्रहरीले आइतबार पक्राउ गरेको थियो । त्यसैगरी केही दिन पहिले झापाको बिर्तामोडबाट ६ महिनाको बच्चासहित आमा स्मृति रिजाललाई पनि प्रहरीले पक्राउ गरेको छ । उनलाई आफ्नै डेराबाट पक्राउ गरेको अनेम सङ्घ (क्रान्तिकारी) ले जनाएको छ । प्रहरीले पक्राउको कारण खुलाएको छैन । उनी नेकपा निकट भएकै कारण पक्राउ गरिएको हुनसक्ने बताइएको छ । पक्राउको विषयलाई लिएर अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीकी केन्द्रीय अध्यक्ष बन्धु चन्दले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो सङ्गठनका नेताकार्यकर्तालाई बिनाकारण गिरफ्तार गरिएको भन्दै तत्काल र बिनासर्त रिहाइको माग गरेकी छिन् । चन्दले ओली सरकारद्वारा चलाइएको यस्तो खालको आतङ्क तत्काल बन्द गर्न आग्रह गर्दै मानव अधिकरवादी सङ्घसंस्थाहरूलाई घटनाको सत्यसत्य सार्वजनिक गर्न माग पनि गरेकी छिन् ।