‘ मजदुरको अधिकार प्राप्त नभएसम्म लडिरहन्छौं’

काठमाडौं, १९ जेठ । अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघले सरकारले सर्वोच्च अदालतको आदेश नमानेको ठोकुवा गर्दै मजदुरको अधिकार प्राप्त नभएसम्म लडिरहने उदघोष गरेको छ । महासंघका उपाध्यक्ष विजयराज प्यासीले आज एक प्रेस विज्ञप्ति जारी गर्दै आफ्ना नेता कार्यकर्तालाई अदालतले रिहा गर्न दिएको आदेशको उल्लंघन गरेर अनाहकमा दोहोर्याई तेहर्याई गिरफ्तार गरेको भन्दै भत्सर्ना गरेका छन । उनले वर्तमान सरकारले सर्वोच्च अदालतले महासंघका अध्यक्ष अमर झाँक्री ‘संजीव’लाई थुन्नुपर्ने कुनैकारण नदेखिएको जनाएर तुरुन्त रिहा गर्न आदेश दिएपनि अदालत परिसरबाटै ओली सरकारले प्रहरी लगाएर पुनः गिरफ्तार गरेको भन्दै आक्रोश पोखेका छन् । अध्यक्ष लगायत सम्पूर्ण नेता कार्यकर्तालाई तत्काल रिहा गर्न माग गरेका छन् । विज्ञिप्तमा केपी ओली नेतृत्वको सरकारलाई सामाजिक दलाल सरकार भनेको छ । मजदुरले शान्तिपूर्ण जुलुस–धर्ना गर्न, मागपत्र बुझाउन र माग राख्न पाउने मजदुरको संवैधानिक अधिकारलाई सरकारले कुन्ठित गरेको उल्लेख गर्दै क्रान्तिकारी मजदुरहरुको एकता र परिवर्तनशील शक्ति देखेर राज्य प्रशासन अत्तालिएको बताएका छन् ।
उपाध्यक्ष प्यासीले हरेक आमूल परिवर्तनको मूल हिस्सा मजदुरलाई बाहिर राखेर मजदुरविरोधी नियम, कानून नबनाउन र मजदुरको कार्यक्रम बिथोल्ने काम र हस्तक्षेप नगर्न समेत चेतावनी दिएका छन् । महासंघले अगाडि सारेका नीति–योजना तथा कार्यक्रमबाट तिल्मिलाइरहेका दलाल सरकारले हाम्रो कार्यक्रममाथि अनावश्यक हस्तक्षेप बढाएको छ, तर कुनै असर पार्ने छैन’ विज्ञप्तिमा भनिएको छ, ‘अन्तिमसम्म मजदुरको पक्षमा लडिरहने दृढ संकल्पित छौं ।’
अध्यक्ष झाँक्री बिनाकारण झुठा अभियोग लगाएर काठमाडौंबाट रोल्पा पुर्याएर हिरासतमा राखिएको भन्दै सरकारको चर्को आलोचना गरिएको छ । पत्रकार सम्मेलन गरेकैबखत बैशाख २५ गते काठमाडौंको संवाद डबलीबाट गिरफ्तार गरिएका महासंघका अध्यक्ष झाँक्रीलाई केही दिनपछि नै सर्वोच्च अदालतले हिरासतमुक्त गर्न सरकारलाई आदेश दिएपनि सर्वोच्च परिसरबाटै पुनः गिरफ्तार गरी अहिलेसम्म रोल्पा जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिराखेको छ । ‘रिहाईको आदेश दिँदा समेत सर्वोच्च अदालतको मानहानी हुने गरी पुनः गिरफ्तारपछि झुठा मुद्दा लगाई अझै हिरासतमा राख्ने कार्य गरेको छ । त्यस कार्यको निन्दा र भत्सर्ना गर्दछौं, साथै रिहाईको माग गर्दै संघर्ष कार्यक्रम घोषणा गर्दछौं’ विज्ञप्तिमा भनिएको छ । ‘सरकार स्वयं अदालतको आदेश मान्दैन भने दलाल संसदीय व्यवस्थाले ल्याएको संविधान मान्दैनौं भन्ने क्रान्तिकारी मजदुरलाई दोष दिनुको अर्थ छैन ?’ प्यासीले भने ‘हामी मजदुरको अधिकार प्राप्त नभएसम्म लडिरहन्छौं ।’ साथै उनले अध्यक्ष झाँक्री, केन्द्रीय सदस्य टुंगनाथ तिमल्सिना (मकवानपुर) लगायत सबै बन्दीलाई तत्काल रिहा नगरिए संघर्षबाट उत्पन्न परिणामको जिम्मेवार सरकार स्वयंम हुने चेतावनी दिए ।