पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धि तत्काल फिर्ता गर्न माग

काठमाडौं, २१ जेठ । नेकपानिकट अखिल क्रान्तिकारीलगायत आठ विधार्थी संगठनले पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धि तत्काल फिर्ता गर्न माग गरेका छन । नेकपा निकट अखिल (क्रान्तिकारी), नयाँ शक्ति निकट विद्यार्थी युनियन, क्रान्तिकारी माअाेवादी निकट अखिल (क्रान्तिकारी), समाजवादी फोरम, राष्ट्रिय जनता पार्टीको विद्यार्थी संगठन, नेपाल मजदूर किसान पार्टीको विद्यार्थी संगठन र राष्ट्रवादी विधार्थी संगठनले आज उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवलाई ज्ञापन पत्र बुझाउँदै सो माग गरेका हुन् । संयुक्त रुपमा ज्ञापन पत्र बुझाउँदै अखिल (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष चिरन्जीवी ढकालले पेट्रोलियम डिजेल पदार्थमा मात्र मूल्य वृद्धि नभए जनताको आधारभूत ग्यास, नुन, मट्टितेल र चामललगायत सबै उपभोग्य वस्तुमा मुल्य वृद्धि हुने भएको हुनाले अविलम्ब फिर्ता गर्न जोडदार माग गरेका छन् । साथै, अध्यक्ष ढकालले मागलाई बेवास्ता गरे आठ विद्यार्थी संगठनहरुले थप संयुक्त संघर्ष गर्न बाध्य हुने समेत बताए । आठ विद्यार्थी संगठनद्वारा जारी संयुक्त रुपमा बुझाएको ज्ञापनमा नेकपानिकट अखिल (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष चिरन्जीवी ढकाल, नयाँ शक्ति विद्यार्थी युनियनका अध्यक्ष श्यामबाबु गौैतम, राजपा विद्यार्थी संगठका अध्यक्ष मनिष मिश्र, अनेरास्ववियू (पाँचौँ)का अध्यक्ष धनश्याम मिश्र, समाजवादी फोरमका अध्यक्ष विवेक राई, अनेरास्ववियु(क्रान्तिकारी)का सचिव पेशल दाहाल, राष्ट्रवादी विद्यार्थी संगठनका अध्यक्ष ताराप्रसाद अर्याल र अखिल (क्रान्तिकारी)का संयोजक आलोक रायमाझीले हस्ताक्षर गरेका छन् ।