आठ विद्यार्थी संगठनद्वारा सरकारलाई चेतावनी

२०७५ जेष्ठ २४ गते, बिहीबार

काठमाडौं, २४ जेठ । अखिल क्रान्तिकारीसहित ८ विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि तत्काल फिर्ता गर्न सरकारलाई चेतावनी दिएका छन् । बिहीबार अखिल क्रान्तिकारीको केन्द्रीय कार्यालयमा बसेको आठ विद्यार्थी नेसंगठको संयुक्त बैठकले ओली सरकारले पेट्रोल डिजेल र मट्टितेलमा गरिएको मूल्य वृद्धिले सर्वसाधारण हरेक क्षेत्रमा चरम महंगीको मारमा परेको भन्दै वृद्धि गरिएको मूल्य तुरुन्त फिर्ता गर्न माग गरेको छ । उनीहरुले मागलाई बेवास्ता गरिए कडा संघर्षमा उत्रने चेतावनी दिएका छन् ।
यसगरी उनीहरुले निजि बिद्यालयले मुल्य वृद्धि गरेदेखि सरकारको ध्यानाकर्षण गराउँदै आइरहेको तर सरकारले बेवास्ता गरेको भन्दै सरकारको घोर भत्सर्ना गर्नुका साथै अक्रोश समेत व्यक्त गरेका छन् । शान्तिपूर्ण तवरबाट मूल्य वृद्धि फिर्ता गर्न र नीजि शिक्षाका संचालकहरुले चर्को रुपमा बढाएको शुल्क फिर्ता गर्न आठ विद्यार्थी संगठनले गरिरहेको प्रयासलाई सरकारले नजरअन्दाज लगाएर पेलेर जाने कोशिस गरेको भन्दै मागहरु सुनुवाई नभए जस्तोसुकै संघर्षमा जान आफूहरु तयार रहेको बताए ।
आफुहरुले उठाएको माग सर्वसाधारण नागरिक र उपभोक्ताको भएको भन्दै अनेरास्ववियू (पाँचौं)का अध्यक्ष घनश्याम मिश्रले सरकार पेलेरै जान खोज्छ भने चुप लागेर नबस्ने चेतावनी दिए । बैठकमा अखिल (क्रान्तिकारी), समाजवादी विद्यार्थी फोरम नेपाल, अनेरास्ववियू (पाँचौं), राजपा विद्यार्थी संगठन, नयाँ शक्ति विद्यार्थी युनियन, अनेरास्ववियू (क्रान्तिकारी), अनेरास्ववियू (क्रान्तिकारी) र अखिल क्रान्तिका नेतृत्व सहभागी थिए ।
आउँदो जेठ २७ गते संयुक्त रुपमा ‘विद्यार्थी आन्दोलन र अबको बाटो’ विषयक अन्तरक्रिया गर्ने, निजी शिक्षामा तीव्र गतिमा बढिरहेको नीजि तथा व्यापारीकरण र माफियाकरण विरुद्ध संघर्ष कार्यक्रम तय गर्न र सार्वजनिक शिक्षामा नागरिकको पहुँच वृद्धि गराउन एउटा शक्तिशाली कार्यदल गठन गर्ने निर्णय समेत बैठकले गरेको विज्ञिप्तमा जनाइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]