आठ विद्यार्थी संगठनलाई आन्दोलन अघि बढाउन आग्रह

काठमाडौं, २७ जेठ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा केन्द्रीय जनसरकार प्रमुख सन्तोष बुढा मगरले आठ विद्यार्थी संगठनलाई आन्दोलन निरन्तर अघि बढाउन आग्रह गरेका छन । नेपाल कम्युनिस्ट पार्टी, नेकपा (क्रान्तिकारी माओवादी), नयाँ शक्ति पार्टी लगायत विभिन्न पार्टी निकट ८ विद्यार्थी संगठनको संयुक्त आयोजनामा ‘विद्यार्थी आन्दोलन र अबको बाटो’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता बुढाले सो कुरा बताएका हुन् । कार्यक्रममा बोल्दै नेता बुढाले अहिलेको सरकारले समाजवादको खोलमा प्रक्रियावादी चरित्र प्रदर्शन गरेको र यसको नेतृत्व संसदीय ब्यवस्थाले गरेको बताए । उनले देशमा कायम रहेको द्धैत शिक्षा नीतिको कारण दलालहरुले शिक्षाक्षेत्रलाई निल्दै गएको र यसलाई अन्त्य गर्न शिक्षामा सुधारात्मक आन्दोलन मात्र गरेर नपुग्ने भन्दै आमुल परिवर्तनको लागि निरन्तर लाग्न विद्यार्थी संगठनहरुलाई सुझाव दिए ।
यसैगरी सोहि कार्यक्रमलाई सम्बोधन गर्दै पुर्व प्रधानमन्त्री समेत रहेका नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भटराईले शिक्षामा नीजिकरण र व्यापारीकरण अत्याधिक बढेर गएको बताएका छन् । उनले शिक्षामा सबैको बराबर अधिकार हुनुपर्ने भन्दै अमेरिकाजस्तो पुँजीवादी मुलुकमा पनि शिक्षामा सरकारले ९० प्रतिशत लगानी गरेको र नीजि क्षेत्रले १० प्रतिशत मात्र लगानी गरेको उदाहरण दिदै नेपालमा नीजि क्षेत्र हावी रहेको बताए । उनले वर्तमान सरकार कम्युनिस्ट सरकार भनिए पनि यो नक्कली कम्युनिस्टको खोल ओडेकाहरुको सरकार भएको र यसले संविधानमा लेखिएका कुराहरु नै ब्यवहारमा लागु गर्न नसकेको बताए ।
कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य सिपी गजुरेल‘गौरव’,ले नेपालका हरेक राजनैतिक परिवर्तनमा विद्यार्थीको महत्वपूर्ण भुमिका रहेको भन्दै सत्ता परिवर्तन संसदीय ब्यवस्थाबाट नहुने बताए । उनले आवश्यक परे सत्ता परिवर्तनको लागि बन्दुक उठाउनुपर्ने बताए ।
कार्यक्रममा पुर्नगठीत (माओवादी केन्द्र)का संयोजक गोपाल किराती लगायत अन्य आठ विद्यार्थी संगठनका माउ पार्टीका नेताहरु उपस्थित थिए । ८ विद्याँर्थी संगठनहरुले शैक्षिक विकृति र विसंगतिका विरुद्ध संयुक्तरुपमा आन्दोलनका कार्यक्रमहरु गर्दै आइरहेका छन् । जस अनुसार आइतबार यो अन्तरक्रिया कार्यक्रम भएको हो । ८ विद्यार्थी संगठनहरुमा अखिल (क्रान्तिकारी), समाजवादी विद्यार्थी फोरम नेपाल, अनेरास्ववियु(पाचौं), राजपा विद्यार्थी संगठन, नयाँ शक्ति विद्यार्थी युनियन, अनेरास्ववियु(क्रान्तिकारी), अनेरास्ववियु (क्रान्तिकारी) र अखिल (क्रान्तिकारी) रहेका छन् । कार्यक्रमको अध्यक्ष राजपा विद्यार्थी संगठनका अध्यक्ष मनिश मिश्र र सञ्चालन अखिल (क्रान्तिकारी)का अध्यक्ष चिरञ्जीवी ढकालले गरेका थिए ।