मूल्य वृद्धि तत्काल फिर्ता नगरे सशक्त आन्दोलन

काठमाडौं , ३१ जेठ । सरकारले पाँचौं पटक बढाएको पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता नलिए सशक्त आन्दोलनमा उत्रने नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सहित तीन पार्टीले चेतावनी दिएका छन् । अनाहकमा पेट्रोलियम पदार्थमा बढाएको चर्को मूल्यले सर्वसाधारणलाई चर्को महंगीमा पारिएको भन्दै नेकपा, नेकपा (क्रान्तिकारी माओवादी) र ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले संयुक्त रुपमा निकालिएको विरोध जुलुसपछि शान्तिबाटिकामा आयोजित कोणसभा पार्टी नेताहरुले वृद्धि गरिएको मूल्य तुरुन्त फिर्ता लिन माग गरे ।
कोणसभालाई सम्बोधन गर्दै नेकपाका पोलिट ब्यूरो सदस्य उमा भुजेल ‘शिल’ले केपी–प्रचण्डको सरकारले जनतालाई महंगी र भ्रष्टाचारको मारमा पारेको बताइन् । सरकारले जनताको न्यायिक आवाजलाई दबाउन खोजेको र दलाल–कालोबजारियालाई संरक्षण दिएको भन्दै महंगी घटाएर तस्कर र भ्रष्टचारीलाई कडा कारवाही गर्न सरकारको ध्यानाकर्षण गरिन् । अधिकारको संघर्षमा रहेका नागरिकमाथि धरपकड, यातना, जेल देखाएर सरकारले समाजमा आतंक मच्चाएको बताउँदै त्यस्ता गतिविधिलाई तत्काल रोक्न सरकारसँग आग्रह गरिन ्। ‘यदि परिवर्तनकामी जनताको न्यायिक अधिकारको कुरा सरकारले सुन्दैन भने जनताले पहल लिएर कारवाही अगाडि बढाउनेछन्’ उनले भनिन् ‘त्यो बेला उत्पन्न परिणामको जिम्मेवार दलाल सरकार हुनेछ ।’ उनले मूल्य वृद्धि फिर्ता नलिए जस्तोसुकै आन्दोलन गर्न तयार रहेको चेतावनी सरकारलाई दिइन् । प्रधानमन्त्रीप्रति लक्षित गर्दै भनिन् ‘ओलीको नक्कली राष्ट्रवादको भ्रममा परेर चुनावमा जिताए । आज महंगीले ढाड सेक्ने बनायो । जनताले त्यसबेला चिन्न सकेनन् । अब जनता झुक्किनु हँुदैन ।’ यो सरकारको मुल उद्देश्य नागरिकमाथि शोषण थोपर्ने कुरा बुझेरै जनताले भ्रष्टचारी र कालाबजारिया–माफियालाई कालो मोसो दलेर सामाजिक रुपमा बहिष्कार गर्दै कार्यक्रम रफ्तारमा बढाइराखेको भनाई नेतृ भुजेले राखिन् । जनताले गर्ने कारवाहीको नेतृत्व नेकपाले गर्ने समेत उनको भनाई छ । भुजेल देशमा दलाल संसदीय व्यवस्थालाई विस्थापित गरेर वैज्ञानिक समाजवादी राज्यसत्ता गठन गर्ने उद्घोषकासाथ एककृत जनक्रान्तिको राजनीतिक यात्रामा रहेको नेकपाका जनप्रतिनिधिसभाकी केन्द्रीय अध्यक्ष समेत हुन् । अहिले देशैभर नेकपाका नेता कार्यकर्ता र जनवर्गीय संगठनमा आवद्ध सबैलाई निगरानी र गिरफ्तार कार्य तीव्र पार्दै लगेको अवस्था छ ।
त्यस्तै कोणसभालाई सम्बोधन गर्दै क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य सीपी गजुरेल ‘गौरव’ले ओली–प्रचण्डको सरकारले सुखी र समृद्धिको नारा दिएर जनतालाई भुक्याएको बताए । ओली–प्रचण्डको सरकार र महंगी र भ्रष्टाचार पर्याय भएको बताए । ‘ओली–प्रचण्ड र महंगी उस्तै हुन्, यो सरकार भ्रष्टाचारीको मुहान भएकैले दलाल र भ्रष्टाचारीलाई पोस्न हप्तैपिच्छे आधारभूत दैनिक उपभोग्य वस्तुको मूल्य बढायो’ गौरवले भने ।
‘ओली–प्रचण्ड र महंगी उस्तै हुन्, यो सरकार भ्रष्टाचारीको मुहान भएकैले हप्तैपिच्छे आधारभूत दैनिक उपभोग्य वस्तुको मूल्य आकाश छुनेगरी बढायो’ गौरवले भने ‘जनताको आवाजलाई सुनेनन् भने अधिकार प्राप्तिका लागि सडक संघर्षबाट जनविरोधी सरकारलाई पाठ सिकाउँछौं ।’
ओली सरकार जनविरोधी र राष्ट्रघाती भएको आरोप लगाए । ‘यो सरकार गठनदेखि महंगी बढ्याबढ्यै छ । विदेशीको दलाली र चाकडी गर्न नदीनाला बेच्ने, सीमा अतिक्रमण र व्यापार घाटा क्रम बढेकै छ’ भने ‘त्यसैले यो सरकारलाई हटाउनुको विकल्पै छैन ।’
मूल्य वृद्धि फिर्ता गरेर जनताको सरकारको रुपमा आफूलाई देखाउन गौरवले प्रधामन्त्री ओलीलाई चुनौती दिए । दलाल सरकारको विरोधमा जनता उत्रने क्रम बढिरहेको भनाई उनको छ । टुंगोमा नपुगेसम्म आन्दोलन नरोकिने उनले बताए । विरोध जुलुसमा हजारौंको सहभागिता रहेको थियो ।
मूल्य वृद्धिविरुद्ध आठ विद्यार्थी संगठनहरुले पनि निरन्तर संघर्ष गर्दै आइरहेको छ ।