नेकपाद्वारा अवैध रुपमा प्राकृतिक स्रोतको दोहन नगर्न चेतावनी

काठमाडौँ, ९ असार । नेपाल कम्युनिस्ट पार्टीले स्थानीय खोलाबाट अवैध रुपमा गिट्टी, बालुवा र ढुंगाको उत्खनन् र निकास कार्य तुरुन्त बन्द गर्न क्रसर माफियालाई चेतावनी दिएको छ । उसले त्यस्तो कार्य तत्काल बन्द नगरिए कारवाही गर्ने बताएको छ । नेकपा मोरङले एक प्रेस विज्ञप्ति जारी गर्दै जिल्लाका खदम, गछियालगायत खोलामा स्थानीयको हितविपरीत दलाल र माफियाले प्रहरीप्रशासनसँग मिलेमतो गरेर अवैध ढंगले क्रसर उद्योग संचालन गरी प्राकृतिक स्रोत ढुंगा, गिट्टी र बालुवाको चर्को दोहन गरिएको भन्दै रोक्न आग्रह गर्दै । नरोके जनताको तहबाट प्रतिरोध गर्ने चेतावनी दिएको छ । ढिलोगरी प्राप्त विज्ञप्तिअनुसार खोलामा संचालित क्रसर उद्योगहरुले आईईईको मापदण्ड उल्लंघन गरेर खोलाबाट ढुंगा, गिट्टी र बालुवा निकाल्ने र बिक्री गर्दै आइरहेका छन् । उद्योगहरुले गलत तरिकाले ढुंगा बालुवा निकाल्दा आसपासका क्षेत्रका बस्ती र खेतीयोग्य जमिनमा गम्भीर क्षति पुगेको बताइन्छ । दोहन साथै प्रदुर्षण समेत बढ्न गई जनताको स्वास्थ्यमाा प्रतिकूल असर पुगेको भन्दै जिल्ला पार्टीको ध्यानाकर्षण भएको नेकपा मोरङले जनाएको छ ।
अवैध रुपमा गरिएको सो उत्खननले स्थानीयले उपभोग गर्दै आइरहेको पानीको मुहान सुकेको, खेतीयोग्य जमिन नासिएको, स्थानीयको भविष्यमाथि खेलवाड गरेको र शैक्षिक अध्ययन तथा अध्यापनमा समेत कोलाहलले गम्भीर असर पुगेको जिल्ला सेक्रेटरी दिवसद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । उक्त क्रसर उद्योग तत्काल बन्द गर्नुपर्ने मागसहित नेकपामा स्थानीय पीडितहरुले दोषीमाथि कारवाही गर्न निवेदन दिएको समेत उनले जनाएका छन् । निवेदनमाथि छानबिन प्रक्रिया अगाडि बढाइएको उसले जनाएको छ ।
खोलामा ढुंगा–बालुवा ओभरडिपोजिट भएको बहानामा माफियालाई गलत तरिकाले जिल्ला वन, घरेलु तथा साना उद्योग, प्राविधिक, समन्वय कार्यालयले माफियहरुसँगको मिलेमतोमा क्रसर उद्योग चलाउन अनुमति दिएको भन्दै तुरुन्त रोक्न दिवसले आग्रह गरेका छन् । यसरी प्राकृतिक स्रोतको दोहन गर्न स्थानीय जनप्रतिनिधिहरुले माफियाबाट ठूलो लाभ लिएको दाबी समेत नेकपाले गरेको छ । साथै अवैध धन्दालाई जिल्लाका प्रशासनले संरक्षण दिएको आरोप लगाइएको छ । दोहन कार्य नराेकिए कारवाही गर्ने जानकारी दिइएको छ ।
माफिया र जनप्रतिनिधिहरुको मिलेमतोमा केराबारीस्थि आमजुगीको तल्लो नाकामा पर्ने वनक्षेत्र रहेको खोलामा पनि गिट्टी, बालुवाको व्यापक दोहन भइरहेको र वरपर उजाड बनाई बस्ती नै जोखिममा पारिएको भन्दै निकास र बिक्री कार्य तुरुन्त बन्द गर्न माग गरिएको छ । साथै जनतालाई समृद्ध बनाउने ठोस योजना र मापदण्ड बनाउन र जोखिम रोक्न पहल लिन सम्बन्धित पक्षसँग आग्रह गरेको छ । आग्रहलाई बेवास्ता गरिए जनहितविपरीतका हर्कत बन्द गर्न सम्झौताहीन प्रतिरोध संघर्षका कार्यक्रम ल्याउने चेतावनी विज्ञिप्तमा दिइएको छ ।
‘हाम्रो अनुरोधलाई गरिए जनहितविपरीतका सम्पूर्ण गतिविधिहरुलाई सम्झौताहीन संघर्षबाट छिनोफानो गर्न बाध्य हुने जानकारी गराइन्छ’ जारी विज्ञप्तिमा उल्लेख गरएको छ ।