‘राज्यले संकटकालभन्दा चर्को दमन गर्यो’

काठमाडौं, १० असार । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले राज्यले चितवनमा संकटकालभन्दा चर्को दमन र धरकपड गरेको भन्दै अापत्ति जनाएको छ । नेकपा चितवनका ईन्चार्ज लालबहादुर बिसी र सेक्रेटरी धु्रवले आइतबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै राज्यआतंकले चरम रुप लिइरहेको बताएका छन् । सर्वसाधारण आतंकित बनेको जनाएका छन् । जिल्लामा केही दिनदेखि सरकारले आस्थाका आधारमा विगत संकटकालमा भन्दा चरम दमन धरपकड र गिरफ्तारी गर्ने काम गरिएको बताएका छन् । उनले चितवन प्रशासनले अहिले मान्छेको हिडडुल गर्न पाउने स्वतन्त्रताको हनन् गर्ने काम गरिरहेको बताए ।
गएको जेठ २५ गते छोरीको शुल्क बुझाउन हिँडेका रत्ननगर नगरकमिटी इन्चार्ज रणदिप गौतमलाई सादा पोशाकका प्रहरीले ६ किलोमिटर मोटरसाइकलमा लखेटेर दुर्घटना गराएर घाइते बनाई गिरप्mतार गरिएको थियो । गौतमको टाउको र खुट्टामा गम्भीर चोट लागेको बताइएको छ । घाइते जनयुद्धको बेला एउटा हात गुमाएका अपांग हुन् ।
देशमा संसदीय समाजिक दलाल र जनताबीच आन्दोलन चलिरहेको उल्लेख गर्दै कथित लोकतान्त्रिक गणतन्त्रको नाममा राज्य र संसदवादी दलहरुले लुटतन्त्र, कमिशनखोर भ्रष्टाचारको पक्षपोषण गरिहेको बताएका छन् । सर्वसाधारण दैनिक उपभोग्य वस्तुमा भएको चरम महंगी, कालाबजारिया र कथित स्थानीय तहले लगाएको करका कारण मारमा परेको बताउँदै त्यसको विरोधको नेतृत्व नेकपाका समर्थक, नेताकार्यकर्तालाई अमानवीय ढंगले राज्यले दमन र गिरफ्तार गरेको उल्लेख गर्दै ईन्चार्ज बिसीले आपत्ति जनाएका छन् ।
क्रान्तिकारी र परिवर्तनकारी जनतामाथि दमन गरेर सरकारले कालाबजारी, भ्रष्टाचार कमिशन र घुसखोरीको पक्षपोषण गर्ने तत्काल नरोके कडा संघर्षका कार्यक्रम घोषणा गर्न बाध्य हुने र त्यसबाट उत्पन्न परिणामको जिम्मेवार सरकार हुने चेतावनी दिइएको छ । अनाहकमा रुपमा खानतलासी र छापा मारेर समाजमा आतंकित तुल्याउने, नेकपा नेताहरुको फोटा देखाएर सूचना दिन भन्दै सर्वसाधारणलाई केरकार गर्ने, नेताकार्यकर्ताका घरपरिवारलाई मानसिक तनाव दिएको भन्दै उक्त रवैया तुरुन्त रोक्न सरकारसँग बिसीले माग गरेका छन् । शासकले अस्थाकै आधारमा दमन र गिरफ्तारी गर्दा आन्दोलन सकिएको इतिहास नरहेको भन्दै आन्दोलन स्पातिलो बन्ने उनको भनाई छ । ‘गिरफ्तार गरिएका हाम्रा नेता कार्यकर्तालाई तुरुन्त रिहाई गर्न र आस्थाका आधारमा गरिने खानतलास, धरकपड, दमन र गिरफ्तारी बन्द गर्न हाम्रो जिल्ला पार्टीको तर्फबाट सरकारसँग विनम्रतापुर्वक अनुरोध गर्दछौं’ जारी विज्ञप्तिमा भनिएको छ, ‘सरकारको रवैया कायम रहिरह्यो भने हामी कडा आन्दोलनमा गर्न बाध्य हुनेछौं । यसबाट उत्पन्न हुने सम्पूर्ण परिणामको जिम्मेवार स्वयं राज्य हुनेछ ।’
आजबाट जिल्लामा शुरु भएको अखिल (क्रान्तिकारी)को अनिश्चितकालीन शैक्षिक हड्तालप्रति नेकपा चितवनको पूर्ण ऐक्यवद्धता रहेको ईन्चार्ज बिसीले बताए । नागरिकको मौलिक अधिकार शिक्षामा भइरहेको व्यापारीकरण र निजीकरण रोक्न हड्ताल प्रभावकारी हुने विश्वास समेत उनले व्यक्त गरे ।