‘भ्रष्टाचारविरुद्ध अभियान, पञ्चदेवल विनायक नगरपालिका घेराउ

काठमाडौँ , १२ असार । नेपाल कम्युनिस्ट पार्टी अछामले पञ्चदेवल विनायक नगरपालिकामा व्यापक भ्रष्टाचार भएको भन्दै विरोध प्रदर्शन गरेको छ । मेयर देवराज देवकोटाको प्रत्यक्ष संलग्नतामा नगरपालिकाका सबै वडामा विकास निर्माण बजेटमा व्यापक अनियमितता भएको भन्दै नेकपाले सोमबार दिउँसो कार्यालय अगाडि प्रदर्शन गरिएको हो ।
नेकपाले गठन गरेको संयुक्त जनपरिषद्को आयोजनामा बिनायक बजारमा रहेको नगरपालिका कार्यालय अगाडि प्रदर्शन गरिएको थियो । जिल्लाभर ‘भ्रष्टाचार विरुद्ध एकीकृत जनजागरण अभियान’ संचालन गरेको जानकारी दिँदै जनपरिषद् प्रमुख निरक शाहीले पञ्चदेव विनायकमा पनि बजेटमा अनियमितता भएकोले कारवाहीको माग गर्दै प्रदर्शन गरेको बताए ।
विरोध प्रदर्शनलाई सम्बोधन गर्दै जनपरिषद् प्रमुख शाहीले विकासमा बजेटमा अनियमिता गरेको रिपोर्टहरु जनताले आफूहरुलाई गरेको बताउँदै त्यसको छानविन गर्न प्रशासनलाई आग्रह गरे । जनताको गुनासो र परिषद्को मागको सुनुवाई नभए आफूहरुले छानविन गर्ने बताए ।
त्यसैगरी नेकपाका सोही एरियाका इन्चार्ज पदम बिक ‘संघर्ष’ ले जनप्रतिनिधिहरुले जनताका सानो भन्दा सानो काममा कमिसन माग्ने, नदिए काम नै नगरिदिने, कमिसन खाएर विकास बजेट दिने गरेको भन्दै कारवाहीको माग गरे । “नगरपालिकामा व्यापक भ्रष्टाचार भएको गुनासो आइरहेकोले छानविन गरी कारवाहीको लागि विरोध प्रदर्शन गरेका हौँ” बिकले भने । उनले आफ्नो शान्तिपूर्ण कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेका भन्दै आपत्ति जनाए । इन्चार्ज बिकले सम्बन्धित निकायले छानविनको प्रक्रिया अगाडि नबढाए आफ्नो पार्टी छानविन गरी दोषीलाई जनकारवाही गर्न बाध्य हुने चेतावनी समेत दिए ।
नगरपालिकाको कार्यालय अगाडि विरोध प्रदर्शन भइरहँदा प्रहरीले नेकपाका कार्यकर्तामाथि धरपकड गरेको थियो । जनपरिषद् प्रमुख शाहीका अनुसार कार्यक्रममा प्रयोग भएका माइकलगायतका सामाग्री प्रहीले कब्जा गरेको छ ।
नेकपा निकट अखिल क्रान्तिकारीले केही समय पहिले मात्रै सोही नगरपालिमा रहेको विद्या मन्दिर उच्च माविका प्रधानाध्यापकलाई कालोमोसो दलेको थियो । अखिल क्रान्तिकारीको दवावपछि विद्यालयले अभिभावकबाट असुल गरेको शूल्क फिर्ता गर्ने निर्णय गरेको थियो ।