गृहद्वारा विरोध प्रदर्शनमा प्रतिबन्ध

काठमाडौँ, १४ असार । गृह मन्त्रालयले माइतीघर र रत्नपार्कको शान्तिबाटिकामा विरोध प्रदर्शन गर्न नपाइने जनाएको छ । उसले विरोध प्रदर्शनका लागि काठमाडौंमा ७, ललितपुरमा ६ र भक्तपुरमा एउटा ठाउँ तोकिएको जानकारी दिएको छ । यसअनुसार काठमाडौंको खुलामञ्च, तीनकुने, भुइँखेल भगवानपाउ, पेप्सीकोला खेलमैदान, सानो गौचरण, सिफल चौर र लैनचौरस्थित समाज कल्याण परिषद्को खुला क्षेत्रमा विरोध प्रदर्शन गर्न पाइनेछ । यसअघि विरोध प्रदर्शन हुने माइतीघर, रत्नपार्कको शान्तिबाटिका क्षेत्रमा प्रदर्शन रोक लगाइएको छ ।
त्यसैगरी ललितपुरका च्यासल खेल मैदान, गोदावरी बसपार्कको खाली क्षेत्र, भैंसेपाटी छ्यासीकोटको खुला ठाउँ, बज्रबाराहीको खुला ठाउँ र लुभु लामाटारमा पनि विरोध प्रदर्शन गर्न दिने मन्त्रालयले जनाएको छ । भक्तपुरको सल्लाघारी खुला मैदानलाई पनि विरोध प्रदर्शन क्षेत्र तोकिएको छ । तोकिएका स्थानबाहेक अन्यत्र प्रदर्शन गरे कारबाही गरिने गृह मन्त्रालयले स्पष्ट पारेको छ ।