गाउँपालिकाका अध्यक्षलाई कालोमोसो !

काठमाडौँ, १६ असार । नेपाल कम्युनिस्ट पार्टीको जनपरिषद्ले बझाङका एक जनप्रतिनिधिमाथि कालोमोसो दलेको छ । साइपाल गाउँपालिकाका कार्यकारी अधिकृत राधाकृष्ण जोशीलाई कालोमोसो दलेको हप्ता दिन बित्न नपाउँदै जनपरिषद्का कार्यकर्ताले गाउँपालिका अध्यक्षलाई शुक्रबार कालोमोसो दलेका हुन् । मष्टा गाउँपालिकाका अध्यक्ष कर्णबहादुर कठायतले विकासे बजेटमा कमिसन खाने, भ्रष्टाचार गर्ने र सेवाग्राहीलाई सेवा नदिएको भन्दै कालोमोसो दलिएको हो ।
त्यसैगरी तत्कालिन एमालेबाट निर्वाचित अध्यक्ष कठायतले रक्सी सेवन गरेर कार्यालयमा आएर सेवाग्राहीलाई धम्काउदै आएको आरोप पनि लाग्दै आएको थियो । नेकपाले नेपाल सरकार र दातृ निकायमार्फत गाउँपालिकामा आएको बजेट कमै नगरी भ्रष्टाचार गर्दै आएको, आस्थाका आधारमा कर्मचारीमाथि विभेद गरेको, बजेट पार्टीकरण गरेको र आफ्ना कार्यकर्ताविरुद्ध सुराकी गरेकोले दाबी गरेको छ । उसले पटकपटक सुझाव दिँदापनि नसच्चिएपछि चेतावनी स्वरुप कालोमोसो दलेको बताएको छ ।
यस्ता छन् पाँच आरोप
१. आफूले संचालन गर्ने योजनाका नाममा विभिन्न दातृ निकाय र सरकारमार्फत आएको बजेट कामै नगरी खाएको ।
२.कार्यालय समयमै जाँड रक्सी खाएर अश्लील व्यवहार गरेको ।
३. निर्वाचित भएपछि कार्यतर कर्मचारी र शिक्षकलाई नैतिक आस्थाका आधारमा विभेद गरेको ।
४. गाउँपालिकाको बजेट बितरणमा पार्टीकरण र राजिनीतिकरण गरेको हो ।
५. हाम्रो पार्टीका कार्यकर्ताविरुद्ध सुराकी गरेको ।
– टेकेन्द्र बोहोरा