निषेधाज्ञा फिर्ता नगरिए कडा संघर्ष : देजमो

२०७५ असार १८ गते, सोमबार

काठमाडौं, १८ असार । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) समर्थित देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका केन्द्रीय अध्यक्ष सीपी गजुरेलले काठमाडौं उपत्यका लगायत ७७ वटै जिल्लाका विभिन्न भागमा ओली सरकारले जारी गरेको निषेधाज्ञाको कडा विरोध गर्दै निषेधाज्ञा फिर्ता नगरिए त्यसका विरुद्ध कडा संघर्ष गर्ने चेतावानी दिएका छन् । गजुरेलद्वारा जारी वक्तव्यमा विरोध गर्न पाउने संविधान प्रदत्त जनताको मौलिक अधिकार खोस्ने गरी जारी गरिएको निषेधाज्ञाले समाजवादको आधार तयार पार्ने बहानामा ओली सरकारले सामाजिक फासिवाद लाद्न खोजेको मोर्चाको पूर्वानुमान सावित गराएको ठोकुवा गरिएको छ । गजुरेलद्वारा जारी वक्तव्यमा भनिएको छ, “आफ्ना जनविरोधी करतुतहरु उदाङ्गिने भयबाट ग्रस्त यो प्रतिकृयावादी सरकारले आफ्नै संविधानको धारा १७ (२) (क) र (ख)लाई समेत लत्याउँदै, निषेधित क्षेत्रको घोषणा गरेर जनताको मौलिक हक माथि हमला गर्ने नीति अघि सारेको छ । कुनै पनि बहानामा जनताका मौलिक हक खोस्ने कामलाई स्वीकार गर्न सकिन्न । त्यसकारण, देशका विभिन्न भागमा निषेधित क्षेत्र घोषणा गरी सीमित ठाउँहरुमा मात्र जम्मा भई प्रदर्शन गर्न पाउने जुन निर्णय गरिएको छ, यसलाई अविलम्ब खारेज गरी जनताको अधिकारलाई कुण्ठित नगर्न सरकार सँग जोडदार माग गर्दछौंं । यदि त्यसो गरिएन भने यसका बिरुद्ध कडा संघर्ष गरिने कुराको पनि जानकारी गराउन चाहन्छौं ।”

प्रतिक्रियाहरु

[anycomment]