वैद्यद्वारा सरकारको ‘अहम र दम्भ’ लामो समय नटिक्ने ठोकुवा

२०७५ असार २० गते, बुधबार

काठमाडौं, २० असार । नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्यले वर्तमान सरकारको ‘अहम र दम्भ’ लामो समय नटिक्ने ठोकुवा गरेका छन । दसवर्षे जनयुद्धका सहिद एवं तिनका परिवारजनको सम्मानमा बुधबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै महासचिव वैद्यले सो ठोकुवा गरेका हुन् ।
वर्तमान सरकारले पञ्चायतकालमा जस्तो सेन्सरसिप सुरु गरेको भन्दै वैद्यले भने– ‘दम्भ नदेखाउन हामी प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी दिन चाहन्छौं, राजा–महाराजाका अवतारको रुपमा प्रधानमन्त्री ओलीले दम्भ देखाउने गरेका छन्, त्यो धेरै दिन टिक्दैन ।’ उत्पादन वृद्धि नगर्ने तर विकास र समृद्धिको नारा उराल्ने काम नगर्न पनि उनले प्रधानमन्त्री ओलीलाई सुझाव दिए । करिव १३ अर्ब व्यापार घाटा रहेको मुुलुकमा विकास र समृद्धिको नारा उराल्न प्रधानमन्त्री ओलीले नसुहाउने तर्क उनले गरे ।
जनयुद्धका महान् सहिदहरुको सपनामाथि गम्भीर आघात पुर्‍याएको भन्दै महासचिव वैद्यले आफ्ना पूर्वअध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को समेत तीखो आलोचना गरे । साथै उनले नेपालका सबै क्रान्तिकारी शक्तिहरुबीच एकता हुनुपर्नेमा जोड दिएका छन् ।
महासचिव वैद्यले सबै क्रान्तिकारीहरु एकताबद्ध भएर क्रान्तिलाई पूर्णतामा पुर्‍याउँदा मात्रै जनयुद्धका सहिद, घाइते योद्धा र तिनका परिवारजनको वास्तविक सम्मान हुनेमा जोड दिए । सहिद परिवार र पूर्वजनमुक्ति सेनालाई कम्तिमा पनि मासिक १० हजार रुपैयाँ भत्ता दिनुपर्ने र उनीहरुका छोराछोरीलाई राज्यले निःशुल्क शिक्षाको व्यवस्था गर्नुपर्ने उनले बताए ।

प्रतिक्रियाहरु

[anycomment]