माओवादी केन्द्र एमालेकरण भएको भन्दै वाइसिएलका अध्यक्ष नेकपातिर

काठमाडौं, २१ असार । पूर्व माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा वाईसिएल संयोजक गणेश बिक ‘गुराँस’ एमाले र माओवादी केन्द्रका एकतालाई क्षणिक जमघट भन्दै विद्रोह गरेका छन् । उनले माओवादी केन्द्र एमालेकरण भएको भन्दै नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् । पूर्व माओवादी केन्द्रको केन्द्रीय सदस्य समेत रहेका बिकले एमाले र माकेको एकतालाई कथित भएको बताउँदै यसले थप निरंकुशता झल्को दिएको बताए । बुधबार एक विज्ञप्ति जारी गरेर बिकले विप्लवले नेतृत्व गरेको नेकपामा प्रवेश गरेको घोषणा गरेका छन् ।
वाईसिएल नवलपुरका संयोजक समेत रहेका बिकले दलाल संसदीय व्यवस्था वा जनवादी राज्य व्यवस्था ? बुर्जुवा समाजवादको वैज्ञानिक समाजवादको बाटो ? भन्ने कुरा क्रान्तिकारी कम्युनिस्टहरुको अगाडि जीवनमरणको प्रश्न भएको समेत बताए ।
“दलाल संसदीय व्यवस्था वा जनवादी राज्य व्यवस्था ? बुर्जुवा समाजवादको बाटो या वैज्ञानिक समाजवादको बाटो ? भन्ने कुरा आज नेपाल नेपालका क्रान्तिकारी कम्युनिस्टहरुका अगाडि जीवनमरणको प्रश्नको रुपमा नेकपा (माओवादी केन्द्र) र एमालेको कथित एकता नामक क्षणिक जमघटले पैदा गरिदिएको छ भने यिनै प्रश्नहरुको बास्तविक र साँचो उत्तर खोजेर आम नेपाली जनतालाई जानकारी गराउनु पर्ने एक ऐतिहासिक नैतिक जिम्मेवारी हामी जनता, राष्ट्र र आफ्ना वर्गप्रति प्रतिवद्ध योद्धाहरुको काँधमा आएको छ” बिकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
एमाले र माकेको एकताले झन निरंकुशताको झल्को मिलेको भन्दै बिकले यस्तो अबस्थामा क्रान्तिकारीहरुका आँखा नखुले सहिद, बेपत्ता र घाइतेहरुको क्रुबानीको अपमान हुने बताए ।
विज्ञप्तिमा अगाडि भनिएको छ, “यो एकताले थप निरंकुशताको झल्को समेत दिइरहेको छ । आजको यस्तो विषम परिस्थितिमा समेत हामी क्रान्तिकारीहरुका आँखामा रतन्धो लाग्यो भने, सोच्न सक्ने दिमाग र बोल्न सक्ने जिब्रोमा प्यारालाइस भयो भने र सुन्न सक्ने कान बन्द भयो भने १७ हजार महान् सहिदहरुले बगाएको रगत, हजारौं घाइतेहरुले गुमाएका अंक, साथै बेपत्ता योद्धाहरुले दिएको क्रुवानी र लाखौं जनताले गरेको त्याग बलिदान र समर्पपणमाथि ठूलो अपमान र गम्भीर धोका समेत हुनेछ ।”
पूर्व जनमुक्ति सेनाका कमाण्डर समेत रहेका संयोजक बिकले दक्षिणपन्थी, संशोधनवादी र दलालहरुको एकता प्रक्रियाबाट विद्रोह गरी वैकल्पिक क्रान्तिकारी बाटोमा आउन समेत अपील गरेका छन् ।