मेयर र वडाअध्यक्षहरुबीच माइन्यूट खोसाखोस

काठमाडौँ, २२ असार । बाजुराको बडिमालिका नगरपालिकाका मेयर र वडाअध्यक्षहरुबीचको विवाद चुलिएको छ । नेपाली काँग्रेस र पूर्व एमाले र माओवादी केन्द्रबाट गरी तीन पार्टीका उम्मेदवार निर्वाचित भएका यहाँका जनप्रतिनिधिहरुबीच सुरुदेखि नै विवाद हुँदै आएको छ । अहिले एमाले र माकेको एकीकरणपछि त्यो विवादले चर्को रुप लिएको छ । दुबै पार्टीका प्रतिनिधिहरु एक ठाउँमा आएपछि काँग्रेस कमजोर भएको छ । बडिमालिका नगरपालिकामा कांग्रेसबाट पदमबहादु बडुवाल विजयी भएका थिए । पछिल्लो विवादमा नगरपालिकाको माइन्यूट खोसाखोस भएको छ । तर, माइन्यूट पूर्वएमालेबाट निर्वाचित भएका वडाअध्यक्षहरुले कब्जामा लिएका हुन् । उनीहरुले नगरपरिषदमा राजनितिक आस्थाका आधारमा बजेट विनियोजन गरेको भन्दै निणर्य पुस्तिका (माइन्यूट) खोसेका हुन् । नगरपालिकाको बैठक भइरहेका बेला नेकपा एमालेका वडाध्यक्ष भएका सबैले हल्ला गरेको र एक जनाले माइन्यूट खोसेर भागेको बताइएको छ । वडा नम्बर २,३,४,७ र ९का वडाध्यक्षले माइन्यूट खोसेर बैठकबाट भागेका थिए । लगत्तै उनीहरुले पत्रकार सम्मेलन समेत गरे । आफूहरुको पाँच वटा बुँदामा असहमति रहेको बताए ।
योजनामा बजेटन विनियोजन नभएको, तत्कालीन नेकपा एमालेको तर्फबाट वडाध्यक्ष विजय भएका योजनामा बजेट कम विनियोजन गरिएको, स्थानीय सरकार वार्षिक योजना तथा बजेट तर्जुमा दिग्दर्शनलाई बेवास्ता गरिएको लगायतका आरोप लगाएका छन् । आफूहरुका माग पूरा नभए थप आन्दोलनका कार्यक्रम गर्ने चेतावनी वडा नम्बर ९ का वडाध्यक्ष विनोदकुमार बिकले बताए । नगरपालिकामा सुरुदेखि भएको विवादबाट स्थानीय दिक्क भएका छन् । जनताको काम गर्न पठाएका प्रतिनिधिहरु अापसी लडाइँमा व्यस्त भएपछि उनीहरु निरास भएका छन् , विकास र सेवा प्रभावित भएका छन् ।