‘शान्तिपूर्ण कार्यक्रममाथि गोली प्रहार , जनताको मौलिक अधिकारमाथिको ठाडो हस्तक्षेप’

२०७५ असार २४ गते, आईतवार

काठमाडौं ,२४ असार । मुगुको सदरमुकाम गमगढीमा सामना साँस्कृतिक परिवारको कार्यक्रम भइरहँदा प्रहरीले हस्तक्षेप गरेको प्रति अखिल नेपाल जनसाँस्कृतिक महमासंघले आपत्ति जनाएको छ । महासंघका महासचिव खेम थपलियाले विज्ञप्ति जारी गरेर सरकार जनताका लेखक–साहित्यकार–कलाकारहरूलाई खतरनाक दुश्मन मान्दै तिनका विरुद्ध व्यापक दमनमा उत्रिरहेको भन्दै मुगु घटनाको निन्दा गरेका छन् । उनले विज्ञप्तिमा पूर्व जानकारीसहित आयोजना गरिएको शान्तिपूर्ण कार्यक्रममाथि गोली प्रहार गरी गरिएको दमनले जनताको मौलिक अधिकारमाथिको ठाडो हस्तक्षेप गरेको बताएका छन् ।
“वर्तमान सामाजिक दलाल संसदीय सत्ताका मतियारले हाम्रो गौरवशाली ङ्गठन अखिल नेपाल जनसांस्कृतिक महासङ्घ, केन्द्रीय समितिअन्तर्गत रहेको केन्द्रीय टोली सामना सांस्कृतिक परिवारले नेकपाको केन्द्रीय कार्यक्रमअन्तर्गत ‘एकीकृत जनजागरण अभियान’ को २०७५ असार २२ गते मुगु जिल्लाको सदरमुकाम गमगढीमा हजारौँ जनसमुदायका बीचमा आयोजित सांस्कृतिक कार्यक्रममा आफ्ना विविध जनचेतनामूलक सांस्कृतिक प्रस्तुति दिइरहेकै बेला बिना कारण र बिना चेतावनी प्रहरीले हस्तक्षेप गरी निर्मम दमन गरेको घटनाले हामीलाई अत्यन्त क्षुब्ध र आक्रोशित बनाएको छ । जनताका मौलिक हक–अधिकारमाथि ठाडो हस्तक्षेप गर्दै आएको सरकारको यस किसिमको पछिल्लो हर्कतको जति निन्दा र भत्र्सना गरे पनि कम हुन्छ” थपलियाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
नेपाल कम्युनिस्ट पार्टी निकट महासंघका महासचिव थपलियाले कलाकारहरु गिरफ्तार र घाइते भएको बताउँदै शान्तिपूर्ण कार्यक्रममाथि गरेको हस्तक्षेपले सरकारको फासिवादी चरित्रलाई नै छर्लङ्ग पारेको बताए । ओली नेतृत्वको सरकारले जनताका नेता–कार्यकर्ता, लेखक तथा कलाकारमाथिको दमन गरेको भन्दै रोक्न माग समेत गरेका छन् ।
गीत–संगीत, मादल–हार्मोनियम र कलाकारको बलिदानीबाट सत्तामा पुगेकाहरुले नै शान्तिपूर्ण कार्यक्रममाथि ताकीताकी गोली चलाउनु र गिरफ्तार गर्नु दुःखदायी घटना भएको बताउँदै महासचिव थपलियाले गिरफ्तारको रिहाई र घाइतेको उपचार गर्न माग गर्न अपील समेत गरेका छन् । सरकारले कलाकारहरुमाथिको दमन जारी राखे प्रतिरोध गर्नुको विकल्प नहुने चेतावनी विज्ञप्तिमा दिइएको छ ।

अखिल नेपाल जनसाँस्कृतिक महासंघका महासचिव खेम थपलियाले जारी गरेको विज्ञप्ति यस प्रकार रहेको छ – “नेपालमा यतिबेला खपु (खड्गपसाद ओली र पुष्पकमल दाहाल) सरकार देशभक्त, क्रान्तिकारी, परिवर्तनप्रेमी राजनीतिक शक्ति तथा जनतालाई बन्दुक र बुटको आतङ्क सिर्जना गर्दै देश र जनताका विरुद्ध उभिएको छ । कुनै पनि देशका न्यायप्रेमी नागरिक खराब शासक र तिनका खराब शासनव्यवस्थालाई स्वीकार्न बाध्य छैनन् र बाध्य हुन पनि हुँदैन, यो खराब व्यवस्था स्वीकार्न जनता बाध्य छैनन् । जनताका मौलिक हक–अधिकारका खिलाफमा स्वयम् सरकार नै उभिएपछि यतिबेला तिनका विरुद्ध सशक्त प्रतिवाद गर्नु, प्रतिरोध गर्नु जनताको नैसर्गिक अधिकार बनेको छ । आज सामाजिक दलाल फासिवादी सरकारका कारण राष्ट्रियता, जनतन्त्र र जनजीविका सवाल गम्भीर मोडमा पुगेको छ । सरकार जनताका लेखक–साहित्यकार–कलाकारहरूलाई खतरनाक दुश्मन मान्दै तिनका विरुद्ध व्यापक दमनमा उत्रिरहेको छ । आज पनि हाम्रो सङ्गठनका केन्द्रीय सचिव कुशल बागटीलगायत दर्जनौं लेखक तथा कलाकारलाई हिरासतमा राखिएको छ भने कैयौंलाई झुट्टा मुद्दामा फसाइएको छ । कुर्सीका लागि ‘प्रभु’ का अगाडि लम्पसार पर्ने तर देशभित्रका क्रान्तिकारी तथा देशभक्त शक्तिलाई चरम दमन गर्नेजस्ता फासिवादी हर्कत गर्न यो सरकार मरिमेटेर लागेको छ । मध्यरातमा घर खानतलासी गर्नु, दूधेबालकलाई समेत पक्राउ गर्नु, झुट्टा मुद्दा लगाउनु, महिनौंसम्म बेपत्ता पार्नु, अदालतले निर्दोष ठह¥याएर छुटेका नागरिकहरूलाइ पटक–पटक पक्रनु र बेपत्ता पार्नु, शारीरिक तथा मानसिक यातना दिनु यो सरकारको दिनचर्या बनेको छ । दलाल सरकारको यसप्रकारको गतिविधिबाट क्रान्तिकारी, देशभक्त तथा स्वाभिमानी जनता आजित भइसकेका छन्, जनताको धैर्यताको बाँध अब धेरै दिन टिक्न सक्तैन ।

झन्डै चार दशकदेखि अखिल नेपाल जनसांस्कृतिक महासङ्घले जनताका हरेक न्यायपूर्ण परिवर्तनकारी राजनीतिक–सांस्कृतिक आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह आएको छ । कृष्ण सेन ‘इच्छुक’ लगायत १७० भन्दा बढी सांस्कृतिक योद्धाहरूले बलिदानको कोटा चुक्ता गरिसकेको हाम्रो सङ्गठन जनप्रियताको उच्च शिखरमा रहेको छ । यसै सन्दर्भमा वर्तमान सामाजिक दलाल संसदीय सत्ताका मतियारले हाम्रो गौरवशाली सङ्गठन अखिल नेपाल जनसांस्कृतिक महासङ्घ, केन्द्रीय समितिअन्तर्गत रहेको केन्द्रीय टोली सामना सांस्कृतिक परिवारले नेकपाको केन्द्रीय कार्यक्रमअन्तर्गत ‘एकीकृत जनजागरण अभियान’ अन्तर्गत २०७५ असार २२ गते मुगु जिल्लाको सदरमुकाम गमगढीमा हजारौँ जनसमुदायका बीचमा आयोजित सांस्कृतिक कार्यक्रममा आफ्ना विविध जनचेतनामूलक सांस्कृतिक प्रस्तुति दिइरहेकै बेला बिना कारण र बिना चेतावनी प्रहरीले हस्तक्षेप गरी निर्मम दमन गरेको घटनाले हामीलाई अत्यन्त क्षुब्ध र आक्रोशित बनाएको छ । जनताका मौलिक हक–अधिकारमाथि ठाडो हस्तक्षेप गर्दै आएको सरकारको यस किसिमको पछिल्लो हर्कतको जति निन्दा र भत्र्सना गरे पनि कम हुन्छ । सोही कार्यक्रममा गोली प्रहार गरिनुका साथै, नेकपाका मुगु इन्चार्ज क. सङ्गम तथा जिल्ला सचिवालय सदस्य क. अडिकलाई पक्राउ गरिएको छ भने कलाकारसहित कैयौंलाई घाइते बनाइएको छ । तसर्थ, बिनाकारण जनताको सेवामा अहोरात्र खटिरहनुहुने नेता–कार्यकर्तालाई पक्राउ गर्नु, घाइते बनाउनुले यो सरकारको फासिवादी चरित्रलाई नै छर्लङ्ग पारेको छ । वर्तमान सरकारद्वारा निरन्तर भइरहेको जनताका नेता–कार्यकर्ता, लेखक तथा कलाकारमाथिको दमन रोक्न हामी यसै प्रेस विज्ञप्तिमार्फत् विशेष आग्रह गर्न चाहन्छौँ ।
जसको गीत–सङ्गीत तथा मादल तथा हार्मोनियम एवम् शौर्य र बलिदानको तागतमा जो–जो अहिले सत्तासीन हुन पुगेका छन्, तिनै शासकले उनै जनकलाकारलाई ताकी–ताकी गोली हान्नु तथा गिरफ्तार गरेर हिरासत कोच्नु अत्यन्त दुःखदायी कुरा हो । यसर्थ, गिरफ्तारीमा पर्नुभएका कमरेडहरूलाई यथाशीघ्र र स–सम्मान रिहाइको निम्ति हामी सम्बन्धित पक्षसित विशेष अपील गर्दछौँ । अन्यथा खपु सरकारविरुद्ध सशक्त प्रतिरोध गर्नुको कुनै विकल्प रहनेछैन, जसबाट उत्पन्न हुने परिस्थितिको भागीदार स्वयम् वर्तमान सरकार हुने कुरा पनि हामी यसै विज्ञप्तिमार्फत् चेतावनी दिन चाहन्छौँ ।”

प्रतिक्रियाहरु

[anycomment]