सरकारको ‘दम्भ’विरुद्ध सशक्त ढंगले उत्रने उदघोष

२०७५ असार २५ गते, सोमबार

काठमाडौं, २५ असार । नेपाली कांग्रेसले सरकारको ‘दम्भ’विरुद्ध सशक्त ढंगले उत्रने उद्घोष गरेको छ । सरकारले दुईतिहाइको दम्भमा विधि र पद्दतिभन्दा पनि थर्काएर सत्ता सन्चालन गरिरहेको आरोप लगाउदै कांग्रेसले सो उद्घोष गरेको हो । कांग्रेस नेता डा. नारायण खड्काले आज काठमाडौंमा आयोजित पुराना कांग्रेसका नेताहरुको भेलामा बोल्दै उनीहरुले सरकार हकुमी शैलीले अघि बढेको भन्दै चर्को आलोचना गरेका हुन् । कांग्रेस नेताहरुले लोकतन्त्र संकटमा पर्नेगरी सत्तारुढ दलले काम गरेको आरोप लगाउँदै कम्युनिस्ट सरकार अधिनायकवाद लाद्न उद्दत भएको जिकिर गरे ।
सभापति शेरबहादुर देउवाले कांग्रेस अब सशक्त ढंगबाट सरकारको खिलापमा जाने चेतावनी दिए । उनले पार्टीलाई एकताबद्ध बनाएर शक्तिशाली कांग्रेस बनाउने अभियानमा आफू रहेको बताए ।
वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार अधिनायकवादतर्फ उद्दत भएको भन्दै कांग्रेस एक भएर चुनौतीको सामाना गर्नुपर्ने बताए । विपन्नलाई न्याय र गरिबलाई आय भन्ने मान्यताबाट अघि बढ्नुपर्ने उनको भनाइ थियो ।
कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छादारले आफूसँग पार्टी एकताकाक्रममा भएका सहमति कार्यन्वयन गर्न आग्रह गरे । उनले पार्टी एकताकाक्रममा भएकामे सहमति कार्यान्वयन नभए आफू भेला गर्न बाध्य हुने चेतावनीसमेत दिए ।
कार्यक्रममा पुराना नेताहरुले भने पार्टी नेतृत्वको आलोचना गरेका थिए । उनीहरुले नेताहरु गुटमा रमाएका कारण पार्टी कमजोर भएको भन्दै गुट त्याग्न आग्रह गरे ।

प्रतिक्रियाहरु

[anycomment]