‘ फेरि आन्दोलन गर्ने दिन आयो’

काठमाडौं, ६ साउन । नेपाली कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको ३६ औं स्मृति दिवसको अवसरमा कांग्रेस केन्द्रीय कार्यालयद्वारा पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा बोल्दै शीर्ष नेताहरुले लोकतान्त्रिक व्यवस्थाको रक्षाका लागि फेरी एक पटक आन्दोलन गर्नुपर्ने अवस्था आउन लागेको भन्दै सबैलाई चनाखो बन्न आग्रह गरेका छन् । उनीहरुले वर्तमान सरकार एकदलीय तानाशाही शासन व्यवस्था लाद्न लागि परेको र नागरिकको अधिकार तथा स्वतन्त्रता कुण्ठीत गर्दै लगेकाले आन्दोलनको आवश्यकता महशूस भएको बताएका हुन् । उनीहरुले नागरिकले सत्याग्रहमार्फत उठाएका मागमा संवेदनहीन हुनु दूर्भाग्य भएको टिप्पणी गरे । सभापति शेरबहादुर देउवाले समाजवादको वकालत गर्ने कम्युष्टि सरकार सबैभन्दा भ्रष्ट रहेको आरोप लगाए ।
मेडिकल माफियाहरुसँग पैसा उठाउंदै जथाभावी ढंगबाट सम्बन्धन दिन लागेको भन्दै सभापति देउवाले डा. केसीले उठाएको माग पूरा नभए कांग्रेसले देशभर आन्दोलन गर्ने बताए ।
वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार सामाजिक फाँसिवादतर्फ उन्मुख भएको भन्दै माफियालाई खुशी बनाएर पार्टी नीतिमा राज्य चलाउने र कब्जा गर्ने नीतिमा सरकार रहेको आरोप लगाए । उनले लोकतन्त्रवादीहरु सर्वसत्तावादबाट मुलुकलाई बचाउन एक भएर सरकारको खिलापमा देशभर आन्दोलन गर्नुपर्ने अवस्था आएको बताए ।
महामन्त्री डा. शशांक कोइराला, केन्द्रीय सदस्यहरु डा. रामशरण महत, गोपालमान श्रेष्ठ, बालकृष्ण खाँड लगायतकाले लोकतन्त्र र नागरिक अधिकार रक्षाका लागि कांग्रेस कार्यकर्ता चनाखो भएर आन्दोलनमा होमिनुपर्ने बेला भएको बताए ।
कार्यक्रममा काँग्रेस नेताहरुले आफुहरुले वीपीको नीति नछोडेको भन्दै कम्युनिष्टहरुले गर्ने प्रचारमा कतिपय कार्यकर्ता बहकिएको बताए । उनीहरुले वीपीले देखेको समाजवादी लक्ष्यतर्फ का्रंग्रेस अग्रसर भईरहेको बताए ।