जनताको अधिकारका लागि बलिदान दिन तयार छौंः प्रकाण्ड

२०७५ श्रावण २४ गते, बिहीबार

काठमाडौं, २३ साउन । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले आफूहरु देशको रक्षा र जनताको अधिकारको लागि बलिदान दिन तयार रहेको बताएका छन् । मंगलबार साँझ साढे सात बजे चोभारबाट गिरफ्तार गरिएका प्रवक्ता प्रकाण्डले अदालत परिसरमा बाक्लो मात्रामा उपस्थित भएका संचारकर्मीहरुको प्रश्नको जवाफ दिँदै राष्ट्रिय स्वाधीनता र जनताको अधिकार प्राप्तिका लागि आफू बलिदानी भावसाथ एकीकृत जनक्रान्तिको यात्रामा रहेकोले हत्कडी लगाउनु ठूलो कुरा नभएको बताए । नेकपाले उठाएको राष्ट्रिय स्वाधीनता र जनताको राज्य व्यवस्थाको एजेण्डाप्रति बढ्दो जनलहर देखेर आत्तिएको ‘कम्युनिस्ट सरकार’ले क्रान्तिकारी कम्युनिस्ट र तिनका नेताहरुलाई गिरफ्तार गरेको भन्दै आपत्ति जनाए । बुधबार दिउँसो साढे ३ बजे अनुसन्धानका लागि भन्दै म्याद थप गर्न बबरमहलस्थित काठमाडौं जिल्ला अदालतमा उपस्थित गराउने क्रममा परिसरमा पुगेका संचारकर्मीहरुसँग प्रकाण्डले सो प्रतिक्रिया दिए । आफूसहित तीनलाई अपराधीलाई झैं व्यवहार गरेर प्रहरीले गिरफ्तार गरेको र पछि आँखामा कालो पट्टी बाँधेर र हत्काडी लगाएर रातभर मानसिक र शारीरिक यातना दिएको जानकारी दिए । प्रहरी प्रशासनको व्यवहारबाट ‘लोकतान्त्रिक सरकार’मा मानवअधिकार मेटिसकेको अनुभूत भएको पनि बताए ।
प्रकाण्डसँगै हरिचन्द्र आचार्य र मिनबहादुर श्रेष्ठलाई गिरफ्तार गरिएको छ । आचार्य र श्रेष्ठलाई रातभर पाइप र बुटले पिटेको बताए । पिटाईबाट आचार्य बिरामी परेका छन् । सरकारले दमनले नेपाली जनताको परिवर्तन र क्रान्तिमा कुनै फरक नपर्ने र बरु प्रतिरोध बढेर जाने भनाई प्रकाण्डको छ । देशभक्त नागिरकसँग अब सरकारी दमनको प्रतिवाद गर्नुको विकल्प नरहेको प्रस्ट पारे । गाह्रोसाह्रो कस्तो छ भन्ने पत्रकारको जिज्ञासामा प्रवक्ता प्रकाण्डले ‘अावश्यक परेमा देश र जनताका निम्ति बलिदान दिनुपरे नि तयार छु’ प्रतिक्रिया दिए ।
उनले वर्तमान राजनीतिक प्रक्रिया र संविधानप्रति नेकपा असहमत रहेको र वैचारिक प्रतिस्पर्धा गरिरहेको कुरा स्पष्टसँग राखे । साथै २००७ सालदेखि ०६२÷६३ सालसम्म नेपाली जनता आफ्नो राज्यव्यवस्था र राजनीतिक अधिकारका लागि संघर्ष गर्दै आइरहेको र त्यो सीमित दलालहरुका कारण उल्टो दिशामा पुगेकोले आफूहरुले अधुरा क्रान्ति पूरा गर्ने अभिभारा बोकेर राजनीति गरिरहेको बताए ।
जनताको अधिकार र स्वाधीनताबारे संघर्ष गरिरहेकै कारण सरकारले नेकपाका नेता कार्यकर्तालाई दमन, झुठा मुद्दा र हत्कडी लगाउने काम गरेको उनको भनाई थियो । आजै तीनै जनालाई पाँच दिनको म्याद थप गरेर अनुसन्धान गर्न भनी टेकु प्रहरी हिरासतमा राखिएको छ । हत्कडीसहित अदालतमा उपस्थित भएको प्रकाण्डलाई दर्जनौं संचारकर्मीले घेरेर प्रश्न गरेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]