‘केपी–प्रचण्डले प्रकाण्डलाई ‘चन्दा अभियोग’ लगाउनु हस्यास्पद’

काठमाडौं , २४ साउन । नेपाल कम्युनिस्ट पार्टीले पार्टी प्रवक्ता प्रकाण्डलाई चन्दाको मुद्दा लगाउनु हस्यास्पद रहेको बताएका छन् । स्वेच्छिक चन्दा लिनु कसैका लागि अपराध नहुने उसको भनाई छ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य अमर झाँक्री ‘संजिव’ले प्रवक्ता प्रकाण्डमाथि चन्दको अभियोग लगाएर सरकारले प्रत्युत्पादक कदम उठाएको बताउँदै उक्त अभियोग तत्काल फिर्ता गरेर प्रकाण्डलाई बिनासर्त तत्काल रिहा गर्न माग गरेका छन् । नेकपाले चलाएको राष्ट्रघात, जनघात, महंगी, भ्रष्टाचारी, दलाल पूँजीवादविरुद्धको संघर्ष घनीभूत बन्दै गइरहेको बेला त्यसलाई कमजोर बनाउन प्रवक्तालाई झुठा आरोपमा गिरफ्तार गरेको उनले बताए । राष्ट्रियता र जनताको अधिकारको पक्षमा लडिरहेका नेताहरुलाई गिरफ्तार गर्नुले केपी–प्रचण्ड सरकार फासिवादी भएको छर्लङ भएको प्रतिक्रिया दिए ।
केन्द्रीय सदस्य संजीवले राष्ट्रिय स्वाधीनता र जनताको राजनीतिक अधिकारसहितको राज्यव्यवस्था स्थापनाको यात्रामा रहेको नेकपाविरुद्ध दमन, गिरफ्तार र झुठा मुद्दा लगाउनु सरकार देशलाई युद्धतर्फ धकेल्न उद्दत रहेको पुष्टि भएको बताए ।
‘शान्तिपूर्ण राजनीतिक आन्दोलन गरिरहेका नेकपाका नेता, कार्यकर्तामाथि झुठा अभियोग लगाएर दमन गर्नु र यातना दिनु देशलाई गृहयुद्धतिर लैजान खाजेको प्रष्ट हुन्छ’ नेता संजीवले भने ‘चुनावका बेला करोडौं चन्दा उठाउने प्रचण्डहरुले नेकपाका नेताहरुमाथि चन्दा उठाएको अभियोग लगाउनु हस्यास्पद कुरा हो ।’
प्रवक्ता प्रकाण्डमाथि झुठा अभियोग तत्काल खारेज गर्न र बिनासर्त तुरुन्त रिहा गर्न उनले सरकारसँग माग गरे । प्रचण्ड कुनै जागिरे र व्यावसायी नभएको भन्दै उनले छोरीलाई दिएको खुमलटारको घर र सम्पत्ति जनतामा ल्याउनुपर्ने बताए । तपाईहरुमाथि जबर्जस्त चन्दा उठाएको अभियोग छ, के भन्नुहुन्छ ? भन्ने प्रश्नमा ‘प्रचण्डले छोरीलाई दिएको घरको स्रोत के हो ? बादल–केपीले चुनावमा उठाएका चन्दाको वैधानिक के हो ? जनताले खोजिरहेका छन्, उनीहरुले जवाफ दिनुपर्छ’ भन्दै प्रतिप्रश्न गरे ‘आफू करोडौं रुपैयाँ चन्दा उठाउने अनि स्वेच्छिक चन्दा लिने नेकपामाथि चाहिं झुठा मुद्दा लगाउने ?’
उनले सरकारलाई ‘दलाल सरकार’ को संज्ञा दिए । नेकपा क्रान्तिकारी र परिवर्तनकामी शक्ति भएको र अहिले सरकारले नेकापमाथि दमन झुठा अभियोगमा मुद्दा चलाएर समाजमा अशान्ति र आतंक फैलाउने र देशलाई जबर्जस्त युद्धतर्फ धकेल्न खोजेको आरोप समेत लगाए ।
स्मरण रहोस्, यही साउन २२ गते काठमाडौंको चोभारबाट नेकपाका प्रवक्ता प्रकाण्डलाई अपहरण शैलीले प्रहरीले गिरफ्तार गरेर करिब पन्ध्र घण्टा बेपत्ता बनाउँदै दिउँ २३ गते दिउँसो मात्र सार्वजनिक गरिएको थियो । अहिले प्रकाण्डमाथि ‘जबर्जस्त चन्दा उठाएको’ अभियोग लगाइएको छ । उनीमाथि झुठा आरोप लगाएको भन्दै त्यसको प्रतिवादस्वरुप नेकपाका महासचिव विप्लवले विज्ञप्ति जारी गरेर साउन २९ गते नेपाल बन्दको घोषणा गरेका छन् । नेकपा देशमा शान्ति र समृद्धि स्थापना गराउन संघर्षशील रहेको बताउँदै वर्तमान दलाल संसदीय व्यवस्था खारेज गरेर वैज्ञानिक समाजवाद स्थापनाको गर्नुको विकल्प नरहेको संजीवले बताए । – सागर लामा