श्रीमतीलाई जागिर खुवाउन चाकडी गर्नेले प्रकाण्डलाई हतकडी लगाए !

काठमाडौं , २६ साउन । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले काठमाडौं प्रहरी हिरासतमा राखिएका नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डलाई ‘अपराधी’ भनेर अभिव्यक्ति दिएपछि बादलको बुझाईप्रति सबैतिर गम्भीर चासो बनेको छ । शुक्रबार चितवनमा पत्रकारहरुको जिज्ञासामा बादलले प्रकाण्ड गैरकानूनी रुपमा चन्दा उठाउने कार्यमा संलग्नता देखिएको भन्दै कानूनबमोजिम कारवाही गरिने प्रतिज्ञा समेत गरे । त्यसमा उनले विगतलाई सम्झेर भने या भुलेर ? यसले सबैको ध्यान तानेको छ ।
तर बादलले आज ‘अपराधी’ देखेका प्रकाण्डको चाकडी गरेर बादलले आफ्नी श्रीमती नैनकला थापालाई जागिर खुवाएको कुरा खुल्न आएको छ ।
२०६३ बैशाख १२ गिरिजाप्रसाद कोइराला नेतृत्वमा गठित सरकारमा प्रकाण्ड महिला तथा बालबालिका तथा समाजकल्याण मन्त्री थिए । त्यो बेला बादलले मरिहत्ते गरेपछि नैनकलालाई राष्ट्रिय महिला आयोगकी अध्यक्षमा नियुक्ती गरिदिएर जागिरे बनाएका थिए । स्रोतका अनुसार श्रीमतीलाई आयोगमा नियुक्ति दिलाउन बादलको प्रकाण्डको निकै चाकडी गरेका थिए । बादलको रुझानलाई हार्न नसकेरै प्रकाण्डले मन्त्री भएको हैसियतले त्यतिबेला नैनकलालाई आयोगमा नियुक्ति गरेको स्रोतले बतायो । नैनकला २०६४ भदौ १३ गते पाँच वर्षका लागि नियुक्ती भएकी थिइन् । नियुक्तिपछि बादलले राहत सास फेरेका थिए । नैनकलाले आयोगकी अध्यक्ष रहँदा निकै आर्थिक लाभ हासिल गरिन् । त्यसबेला प्रकाण्ड र बादल सहकर्मी थिए । तर तत्कालीन सरकारका मन्त्री रहेका प्रकाण्डको पाऊ परेका तिनै बादलले अहिलेका सरकारमा गृहमन्त्री भएकै भरमा सहकर्मीलाई ‘चन्दा संकलन’को चार्ज लगाएर ‘अपराधी’को संज्ञा दिएका छन् । उक्त चार्जलाई धेरैले बादलमा चढेको सत्ताको मातको रुपमा लिएका छन् । किनकि जनताले दिएका सहयोग र संकलित चन्दाकै भरमा तत्कालीन जनयुद्ध अवधिभर प्रचण्ड–बादलहरुको दैनिकी टरेको कुरा कसैले भुलेका छैनन् ।
प्रकाण्ड २०६७ बैशाख २१ गते झलनाथ खनालको नेतृत्वमा पुनर्ग्ठित सरकारमा पर्यटन तथा नागरिक उड्डययन मन्त्री समेत बनेका थिए ।