होटल अन्नपूर्णसँग चन्दा मागेको प्रचार भ्रामक र कपोल्कल्पितः प्रकाण्ड

२०७५ श्रावण २६ गते, शनिबार

काठमाडौं , २६ साउन । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले राजधानीको दरबार मार्गमा अवस्थित होटल अन्नपूर्णसँग पार्टीले चन्दा मागेको प्रचार झुठा भएको भन्दै खण्डन गरेका छन् । सरकारले गिरफ्तार गरी प्रहरी हिरासतमा राखिएका प्रवक्ता प्रकाण्डले अन्नपूर्ण होटलका संचालकलाई आफूले नचिन्ने प्रष्ट पारेका छन् । उक्त होटलकी संचालिका सिर्जना राणासँग नेकपाले चन्दा मागेको प्रचार केही दिनदेखि संचारमाध्यम आइरहेको सुनेर आफूलाई आश्चर्य लागेको उनले बताए । समाचारले आफूलाई दुःखी बनाएको बताए । उक्त समाचार पार्टी र नेतालाई बद्नाम गराउने उद्देश्यबाट प्रेरित र भ्रामक कपोल्कल्पित भएको उनको ठोकुवा छ ।
यता प्रकाण्ड गिरफ्तार पर्नुमा सिर्जना राणाको हात रहेको भन्ने विषय संचारमाध्यममा राम्रै छाइरहेको स्थितिमा भने होटल अन्नपूर्णले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन भने यता राणाले पनि यसबारे मुख खोलेकी छैनन् । उक्त होटलका श्रृजना र उनका श्रीमान्ले संचालन गर्दै आइरहेका छन् । कुनै व्यापारी भनिएका मान्छेसँग आफ्नो नाम जोडेर प्रचार गरिनु नेकपाको लोकप्रियता र राष्ट्रियताप्रति समर्पित एजेण्डाबाट हतास बनेका तत्वहरुको षडयन्त्रबाहेक अन्य केही नभएको धारणा प्रकाण्डको छ । उनले आफू र नेकपासँग जोडेर त्यस्ता गलत समाचार प्रकाशन र वा प्रसार नगर्न समेत सम्बन्धित पक्षसँग हिरासतभित्रैबाट आग्रह गरेका छन् ।
प्रवक्ता प्रकाण्डलाई पार्टीको नियमित काममा रहेका बेला यही साउन २२ गते काठमाडौंको चोभारबाट साँझ साढे सात बजेतिर प्रहरीले अपहरण शैलीमा गिरफ्तार गरी झण्डै पन्ध्र घण्टा बेपत्तापछि अहिले हिरासतमा राख्दै आइरहेको छ । उनीसँगै गिरफ्तार परेका सहयोगी हरिचन्द्र आचार्य र गाडी चालक मनबहादुर श्रेष्ठ पनि हिरासतमै छन् ।

प्रतिक्रियाहरु

[anycomment]