नेकपाले चन्दा मागेको छैन : श्रृजना राणा, संचालिका , होटल अन्नपूर्ण

काठमाडौं, २६ साउन । नेपाल कम्युनिस्ट पार्टीले आफूसँग कहिल्यै चन्दा माग नगरेको होटल अन्नपूर्णकी संचालिका श्रृजना राणाले बताएकी छन् । चन्दा अभियोग लगाएर यही साउन २२ गते साँझ काठमाडौंको चोभारबाट गिरफ्तार गरिएको नेकपाका प्रवक्ता प्रकाण्डसँग जोडेर केही दिनदेखि लगातार समाचार सार्वजनिक भइरहेको सन्दर्भमा दरबारमार्गमा अवस्थित उक्त होटल अन्नपूर्णकी संचालिका राणाले होटल वा आफूसँग नेकपाले कुनै किसिमका चन्दा वा सहयोग नमागेको प्रष्टिकरण दिएकी हुन् ।
आफू उक्त होटलको संचालक रहेको र अहिलेसम्म नेकपाले चन्दा–सहयोग केही नमागेको र पार्टीसँग सम्बन्धित रहेर कुनै प्रकारको चिठी–पत्र नआएको बताइन् । होटल अन्नपूर्णसँग नेकपाले जबर्जस्त चन्दा लिएको खबर प्रहरीलाई संचालिका राणाले दिएको समाचारहरु आउन थालेपछि उनको उक्त भनाई आएको हो । संचालिका राणाले गिरफ्तार प्रकाण्डसँग चिनजानै नभएको र नेकपासँग कुनै तरिकाको सम्बन्ध नरहेको जानकारी दिइन् । ‘नेकपालाई चन्दा दिएको भनेर मेरो नाम जोडिएर आएको देख्दा म चकित परेकी छु’ उनले भनिन् ‘आफूले गर्दै नगरेको कामलाई गरेको भनेर समाचार निरन्तर आएको देखेर मलाई ठूलो दुःख लागेको छ ।’
गिरफ्तार परेका कसैसँग आफ्नो चिनाजान नभएको पनि उनले दाबी गरिन् । ‘म आफ्नो पेशामा छु, व्यवसाय गरिरहेकी छ । प्रकाण्ड नाम समाचारहरुमा सुनेपढेको हुँ । उहाँलाई म चिन्दा त चिन्दिनँ, चन्दा मागेको भनेर म कसरी भन्न सकुँला ?’ राणाले भनिन् ‘अनि कसरी उहाँको गिरफ्तारी र अभियोगसँग मेरो नाम जोड्न मिल्छ ?’
समाचारहरुमा जेजे छापिए पनि आफूलाई एकदिन सत्यले न्याय दिने विश्वास लिएको उनले बताइन् । अनावश्यक विषयसँग जोडेर बारम्बार समाचार आएकै कारण आफू मुख खोल्न बाध्य भएको उनको भनाई छ । ‘पार्टीलाई चन्दा दिन सक्ने हैसियतका मान्छे हुँ र म ?’ उनले भनिन् ।
प्रहरीले भने हिरासतमा राखिएका नेकपाका स्थायी समिति सदस्य समेत रहेका प्रवक्ता प्रकाण्डलाई ‘जबर्जस्त चन्दा संकलन’ अभियोग लगाइएको छ । प्रकाण्डलाई अहिले टेकु प्रहरी हिरासतमा राखिएको छ ।