प्रकाण्ड सर्वोच्चमा , रिहा हुने सम्भावना

काठमाडौं, १ भदौ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डलाई आज १० बजे सर्वोच्च अदालतमा उपस्थित गराउने भएको छ । दस दिनदेखि महानगरीय प्रहरी परिसर टेकु हिरासतमा राखिएका प्रकाण्डलाई बन्दी प्रत्यक्षीकरण रिटमाथिको सुनुवाईका लागि सर्वोच्चमा उपस्थित गराउने भएको हो । नेपाल सरकार, गृहमन्त्रालय, काठमाडौं प्रहरी र काठमाडौं जिल्ला अदालतलगायत विपक्षीहरुले लिखित जवाफ पेश गर्न ढिलाई गरेका कारण हिजो बिहीबारको सुनुवाई स्थगित भएको थियो । गैरकानूनी रुपमा गिरफ्तार गरी थुनामा राखिएको भन्दै साउन २७ गते प्रकाण्ड पुत्र नरेन्द्रबहादुर विकले तीनै जनाको रिहाईको माग गर्दै रिट दायर गरेका थिए । सुनुवाईका लागि उनीसँगै गिरफ्तार गरिएका स्टाफ हरिचन्द्र आचार्य ‘विमर्श’ र गाडी चालक मानबहादुर श्रेष्ठलाई पनि उपस्थित गराइँदैछ ।
आजको सुनुवाईमा प्रकाण्डसहित सबैजना रिहा हुने सम्भावना बढेको स्रोतले जनाएको छ । रिटमाथि साउन २८ गते सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको एकल इजलासले ४८ घण्टाभित्र बन्दीहरुलाई लिखित जवाफसहित उपस्थित गराउन सरकारको नाममा आदेश भएको थियो । उनीहरुलाई पार्टी कामको सिलसिलामा हेटाैडाबाट काठमाडाैं अाउँदै गर्दा साउन २२ गते काठमाडाैंको चोभारबाट सीअाईबी टोलीले गिरफ्तार गरेको थियो । गिरफ्तारपछि तीनै जनामाथि चन्दा अभियोग लगाइएको छ । स्रोतका अनुसार गिरफ्तार तीनै जनाको विषयमा विपक्षीहरुले हिजो अबेर लिखित जवाफ पठाइसकिएको छ ।