प्रकाण्डको पुन : गिरफ्तारी बिरुद्ध सर्वोच्चमा पुनः बन्दी प्रत्यक्षीकरण रिट दर्ता

२०७५ भाद्र ३ गते, आईतवार

काठमाडौं, ३ भदौ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डलाई गैरकानूनी ढंगले गिरफ्तार गरेको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दर्ता भएको छ । प्रकाण्डका भाई विरेन्द्र विश्वकर्माले आज सर्वोच्च अदालतमा रिट दर्ता गरेका हुन् । रिटमा नेपाल सरकार गृहमन्त्रालय, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, प्रहरी प्रधान कार्यालय नक्साल, महानगरीय प्रहरी परिसर टेकु काठमाडौं, महानगरीय प्रहरी परिसर टेकु काठमाडौंका प्रमुख, महानगरीय प्रहरी वृत्त सिंहदरबार काठमाडौं, महानगरीय प्रहरी वृत्त सिंहदरबार काठमाडौंका प्रमुख, जिल्ला प्रहरी कार्यालय काभ्रे र जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुखलाई विपक्षी बनाइएको छ ।
यसअघि साउन २२ गते पनि गैरकानूनी रुपमा गिरफ्तार गरी सरकारले बिनाकारण प्रहरी हिरासतमा राखेको भन्दै प्रकाण्डपुत्र नरेन्द्रबहादुर विकले साउन २७ मा दर्ता गरेको रिटमाथि भएको शुक्रबारको आदेशबाट रिहा भएका प्रकाण्डलाई सोही रातिसम्म सर्वोच्च परिसरमा डेढसय भन्दा बढी प्रहरीले बाटो छेकेर राष्ट्रिय मानवअधिकार आयोगको बीएए ३९६७ नम्बरको गाडीबाट ९ः१० बजे खोसेर गिरफ्तार गरेको थियो ।
त्यहाँबाट महानगरीय काठमाडौं परिसर टेकुमा हिरासतमा लैजाने भनिएपनि राति ११ बजे काभ्रे सदरमुकाम धुलिखेल प्रहरीमा पुर्याएर हिरासतमा राखिएको छ ।
यसैबीच, जिल्ला प्रहरी कार्यालय काभ्रेले प्रवक्ता प्रकाण्डलाई अदालतमा पेश गरेको छ । अदालतले प्रवक्ता प्रकाण्डलाई ३ दिन थुनामा राख्न अनुमति दिएको छ । प्रहरीले अनुसन्धानका लागि ७ दिनको समय मागेको थियो । तर, जिल्ला अदालत काभ्रेले ३ दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।

प्रतिक्रियाहरु

[anycomment]