‘नेपाल कम्युनिष्ट पार्टीसँग सरकारले राजनीतिक व्यवहार गरोस्’

२०७५ भाद्र ५ गते, मंगलवार

काठमाडौं, ५ भदौ । पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले नेपाल कम्युनिष्ट पार्टी राजनीतिक शक्ति भएकोले उसलाई राजनीतिक व्यवहार गर्न केपी–प्रचण्डसँग आग्रह गरेका छन् । सोमबार आफ्नो ट्वीटर पेजमार्फत धारणा सार्वजनिक गर्दै सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ले नेतृत्व गरिरहेको नेकपालाई सरकारले राजनीतिक नभई पूर्वाग्रही र प्रतिशोधी भावनाले व्यवहार गरिरहेको औंल्याएका छन् । डा. भट्टराई गोरखा जिल्लाबाट भारी मतान्तरले विजयी संघीय सांसद समेत हुन् । नेकपाले लिएको राजनीतिक कार्यदिशाबारे मतभेद हुन सक्ने तर राजनीतिक शक्तिको रुपमा अगाडि आइसकेको बताएका छन् । ‘विप्लवले नेतृत्व गरेको नेकपाको कार्यदिशाबारे मतभेद हुन सक्छ, तर त्यो एउटा राजनीतिक शक्ति हो भन्ने कसैले नकार्न सक्दैन’ पेजमा लेखेका छन् ।
प्रहरी हिरासतमा राखिएका नेकपाका प्रवक्ता खडगबहादुर विश्वकर्मा ‘प्रकाण्ड’, पोलिटब्यूरो सदस्य कृष्ण धमला ‘गम्भीर’ र मोहन कार्की ‘जीवन्त’ लगायत नेताहरुमाथि सरकारले लगाइएको आरोप हास्यास्पद रहेको भन्दा सरकारको अडा आलोचना गरेका छन् । ‘त्यो पार्टीका केन्द्रीय नेताहरु प्रकाण्ड, जीवन्त, गम्भीरलाई अराजनीतिक आरोपमा मुद्दा लगाउनु हास्यास्पद छ । उनीहरुसँग सरकारले राजनीतिक व्यवहार गरोस् ।’ ट्वीटर पेजमा लेखिएको छ । साथै अनुसन्धानको नाममा नेताहरुलाई अदालतबाट पटकपटक म्याद थप गरिएकोप्रति डा. भट्टराईले घुमाउरो तरिकाबाट विरोध जनाएका छन् ।
अघिल्लो साउन २२ मा गिरफ्तारपछि प्रकाण्डलाई लगायतलाई भेट्न महानगरीय प्रहरी परिसर टेकु पुगेका थिए । त्यसबेला उनले मन्त्री भइसकेका नेता प्रकाण्डलाई अपराधीलाई हत्कडी लगाएर राज्यले हतास मनस्थिति र खराब चरित्र देखाएको भन्दै आलोचना गरेका थिए ।
हालै एउटा सार्वजनिक कार्यक्रममा डा. भट्टराई सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री रामशबहादुर थापा ‘बादल’लाई लक्षित गरेर ‘क्रान्ति (जनयुद्ध)का ब्याज खानेहरुको दाह्रा–नङग्रा झरिसक्दा पनि दुबो ख्रोसिँदै हिडिरहेको’ भन्दै व्यापक आलोचना गरेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]