‘न्याय माग्न जनता अब कहाँ जाने ?’

काठमाडौं, १० भदौ । आजको प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गम्भीर अपराधका दोषीलाई जोगाउन राज्य नै लाग्ने हो भने ‘न्याय माग्न जनता अब कहाँ जाने ?’ भन्ने प्रश्न उठाएका छन् । सभापति देउवाले बलात्कार पश्चात एउटी अवोध बालिकाको हत्या निन्दनीयमात्रै नभएर जघन्य अपराध पनि भएको उल्लेख गर्दै यस्ता घटना किन बढिरहेका छन् ? यसलाई कसरी समाप्त गर्न सकिन्छ ? भन्ने तर्फ सबै खाले राजनीतिक आग्रहभन्दा माथि उठेर हाम्रा छोरी चेलीहरुको मर्यादा, सुरक्षा र सम्मान अभिवृद्धि गर्न जरुरी रहेको बताए ।
कञ्चनपुरकी १३ बर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धान प्रक्रियामा भएको ढिलाई र त्यसमा गाँसिएका प्रश्नहरुले प्रश्न उठाएको उनले बताए । ‘हामी कस्तो राज्य बनाउन गइरहेका छौं ? दोषीलाई जोगाउन तब स्वयं राज्य लाग्छ, तब निर्दोषले न्याय माग्न कहाँ जाने ?’ उनले भने, ‘अपराधमा सामेललाई जोगाउन गरिएको प्रयत्न पनि अपराध हो । एउटा निर्दोष नागरिकलाई दोषीका रुपमा किटानी गरेर कारवाही अघि बढाएको विषय अपराधको पराकाष्ठा नै हो । म आग्रह गर्न चाहन्छु सरकार यस विषयमा गम्भीर बनोस् ।’
राज्यले नै दोषीलाई जोगाउन खोज्दा नागरिकहरुमा आक्रोश बढ्नु र हजारौं नागरिक न्याय माग्न सडकमा ओर्लनु स्वभाविक थियो भन्दै देउवाले अगाडि भने, ‘तर, राज्यले संयमता अपनाउन नसक्दा प्रहरीको गोलीबाट अर्को बालक सन्नी खुनाको मृत्यु भयो, कयौं नागरिक घाइते हुन पुगे । सरकारको यस्तो दमनकारी शैलीको म निन्दा र घोर भर्त्सना गर्दै प्रश्न गर्न चाहन्छु– एउटी बालिकालाई न्याय माग्दा अर्को बालकले मारिनु पर्ने यो कस्तो लोकतन्त्रको अभ्यास गराउँदै हुनुहुन्छ प्रधानमन्त्रीज्यूले ?’
बजार मूल्यको मारमा परेका जनतालाई स्थानीय करको अचाक्ली बृद्धिले ढाड सेकिरहेको भन्दै उनले कर तिर्नु जिम्मेवार नागरिकको कर्तव्य भए पनि कर न्यायोचित ढंगले निधारित भएको छ कि छैन र कर तिरेअनुरुपको सुविधा नागरिकले पाइरहेका छन् की छैनन् भन्ने व्यवहारिक पक्ष बिर्सन नमिल्ने बताए । उनले बढाइएका करहरुको व्यवहारिक वास्तविकता तत्कालै अध्ययन गरी न्यायोचितलाई कायम राख्ने र अचाक्ली करलाई फिर्ता लिई नागरिक जीवनलाई सहज बनाउन आवश्यक समन्वयका लागि सरकारलाई आग्रह गरे ।