प्रकाण्डलाई २४ घण्टाभित्र सर्वोच्चमा उपस्थित गराउन आदेश

२०७५ भाद्र १० गते, आईतवार

काठमाडौं, १० भदौ । सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डलाई २४ घण्टाभित्र उपस्थित गराउन आदेश दिएको छ । सर्वोच्चका न्यायाधीश केदारप्रसाद चालिसेको एकल इजलासले बाटोको म्यादबाहेक २४ घण्टाभित्र गिरफ्तार गर्नुको लिखित कारणसहित प्रकाण्डलाई सर्वोच्चमा पेश गर्न सरकारको नाममा आइतबार आदेश भएको हो ।गैरकानूनी रुपमा गिरफ्तार गरी गैरन्यायिक तरिकाले सरकारले थुनामा राखेको भन्दै रिहाईको मागसहित प्रकाण्डका भाई विरेन्द्र विश्वकर्माले गत शुक्रबार सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दर्ता गरेका थिए । आइतबार भएको रिटमाथिको बहसपछि दिएको आदेशले नेकपाका स्थायी समिति सदस्यसमेत रहेका नेता प्रकाण्डलाई रिहा नगर्नुपर्ने कारण भए सबुद प्रमाणसहित बाटोको म्यादबाहेक २४ घण्टाभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत उपस्थित हुन सरकार र गृहमन्त्रालगायत विपक्षीलाई भनेको छ ।
रिट पक्षको तर्फबाट आज बहसमा वरिष्ठ अधिवक्ताहरु शम्भु थापा, एकराज भण्डारी, तुलसी भट्ट, पूर्वमहान्यायधिवक्ता रमण श्रेष्ठ, अधिवक्ताहरु कपिलचन्द्र पोखरेल, योगेन्द्रबहादुर अधिकारी, कान्तिराम ढुंगाना, राजु अधिकारीलगायतले बहस गरेका थिए । भदौ ३ मा दर्ता बन्दी प्रत्यक्षीकरण रिटमाथि ७ गते सुनुवाई गर्दै भएको रिहाई आदेशपछि सर्वोच्च अदालतबाटै सोही दिन नुवाकोट जिल्ला प्रहरी कार्यालयले तयार पारेको अभियोगमा साँझ ६ बजेर ३६ मिनेट जाँदा प्रकाण्डलाई लछारपछार गरेर प्रहरीले रिगफ्तार गरेको थियो । पछि उक्त गिरफ्तार गैरकानूनी भएको जनाउँदै नेपाल सरकार, गृहमन्त्रालय, नुवाकोट जिल्ला प्रहरी कार्यालयलगायतलाई विपक्षी बनाई यही भदौ ८ गते तेस्रो पटक रिट दर्ता भएको हो । सोही रिटमाथि आज आइतबारको बहसपछि २४ घण्टाभित्र पेश गर्न आदेश भएको हो ।
त्यसअघि पार्टी काम सकेर हेटौंडाबाट काठमाडौं आइरहेको बेला गत साउन २२ गते काठमाडौंको चोभारनजिक चाल्नाखेलबाट गिरफ्तार गरिएका प्रवक्ता प्रकाण्डलाई भदौ १ गते न्यायाधिश चोलेन्द्र शमसेर जबरा र तेजबहादुर केसीको सुंक्त इजलासले प्रकाण्डलाई तत्काल रिहा गर्न आदेश दिएको थियो । तर काभ्रे जिल्ला प्रहरी कार्यालयले तयार पारेको बम विस्फोट र आगजनी अभियोगमा आदेश भएकै राति ९ बजेर १० मिनेट जाँदा काठमाडौं प्रहरीले सर्वोच्च अदालत परिसरबाटै राष्ट्रिय मानवअधिकार आयोगको गाडीबाट जबर्जस्त तानेर गिरफ्तार गरी काभ्रे सदरमु्काम धुलिखेलस्थित प्रहरी हिरासतमा लगिएको थियो ।
प्रकाण्डलाई अहिले आगजनीको अभियोगमा नुवाकोट जिल्ला प्रहरी कार्यालय विदुरमा राख्दै आएको छ । आजै जिल्ला अदालत नुवाकोटले नेता नेकपाका स्थायी सदस्य समेत रहेका नेता प्रकाण्डलाई ३ दिन थुनामा राखी अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । प्रकाण्डमाथि लगाइको अभियोगमा प्रमाण नपुग्ने भएपछि सर्वोच्चले दुईपटक अभियोगपत्र खारेज गरिसकेको छ ।

प्रतिक्रियाहरु

[anycomment]