‘हामीले गणतन्त्रको नारा लगाएको बेला केपीहरु हाम्राविरुद्ध सुराकी गर्दै हिँड्थे ‘

काठमाडौं , १६ भदौ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले अहिले देशमा प्रतिक्रान्ति भएको बताएका छन् । नेकपाका स्थायी समिति सदस्य समेत रहेका प्रवक्ता प्रकाण्ड अहिले सरकारको झुठा अभियोग खेप्दै नुवाकोट जिल्लाको सदरमुकाम विदुरस्थित जिल्ला प्रहरी कार्यालयको हिरासतमा दिन बिताइरहेका छन् । सर्वोच्च अदालतको आदेशमा रिहा भएलगत्तै यही भदौ ७ गते साँझ सर्वोच्च परिसरबाट तेस्रो पटक गिरफ्तारपछि हिरासतमा रहेका प्रवक्ता प्रकाण्डले आपूmमाथि सरकारले राजनीतिक प्रतिशोध साँधेको र झुठा अभियोग लगाएर दुःख दिने काम गरेको बताउँदै देशमा प्रतिक्रान्ति सुरु भएको बताए । जतिसुकै अभियोग लगाए पनि आपूm त्यसको प्रतिवाद गर्न तयार रहेको बताए । जनयुद्धमा उठाइएका मागहरुलाई लत्याएर संसदीय फोहोरी खेलमा डुब्न पुगेका जनयुद्धका तत्कालीन नेतृत्व प्रचण्ड र तिनका आसेपासेहरु सत्तामा बसेर क्रान्तिकारीहरुमाथि दमन र हस्तक्षेप गरेर प्रतिक्रान्तिको सुरुवात गरेको उनले बताए । क्रान्तिकारी पत्रकार संगठन नेपालका प्रतिनिधिसँगको भेटमा प्रवक्ता प्रकाण्डले अहिलेको बुर्जुवा गणतन्त्र ल्याउन केपी ओलीहरुको कुनै भूमिका नभएको र गणतन्त्रको नारा लगाउँदै हिँड्ने तत्कालीन नेकपा (माओवादी) विरुद्ध सुराकी गरेर हत्या र जेलमा सडाउने षड्यन्त्रमा रहेको बताए ।
साथै बुर्जुवा गणतन्त्र जनयुद्ध बेलाको उद्देश्य नभएको र अहिले पनि आपूmहरुले लक्ष्य त्यो नभई वैज्ञानिक समाजवादी व्यवस्था भएको स्पष्ट पारे । ‘जनयुद्धले गणतन्त्रको नारा लगाएको बेला केपीहरु हाम्राविरुद्ध सुराकी गर्दै हिँड्थे । आज ‘बुर्जुवा गणतन्त्र ल्याउँदैमा केपी ओलीहरु धेरै ट्याउँ–ट्याउँ गर्नु पर्दैन’ उनले भने । सरकारमा बसेर नेकपाका केही नेतालाई भौतिक रुपमै सिध्याएर शासन टिकाउँछु भनेर नसोच्न समेत सरकारलाई चेतावनी दिएका छन् । क्रान्ति नेपालको आवश्यकता र अनिवार्यता बनिसकेको भन्दै दमन, हस्तक्षेप र झुठा मुद्दाले परिवर्तनकारी जनताले उठाएको क्रान्ति नरोकिने उनको भनाई छ ।
नेकपामाथि जबर्जस्त रुपमा संगठित अपराधी र उग्रपन्थीको दर्जमा राखेर दमन गर्ने षड्न्त्रमा देशीविदेशी दलाल पुँजीवादीहरु लागिपरेको र केपी–पिके सरकार तिनका मतियार बनेर क्रान्तिको अगाडि प्रस्तुत आएको धारणा उनको छ । ‘जनयुद्धले सामन्ती राजतन्त्र ढाल्यो । केपीहरु त्यही राजतन्त्रको कालकोठरीमा थिए । आज प्रचण्ड–बादलहरु जनयुद्धको उद्देश्य र लक्ष्यमाथि गद्दारी गरेर संसदमा छिरेपछि केपीहरु हौसिएका छन्’ प्रकाण्डले भने ‘जनतामाझ बद्नाम र नाङिगइसकेको यो सरकार छिट्टै टाट उल्टिँदैछ ।’ प्रतिक्रान्तिलाई पराजित गर्नकै निम्ति क्रान्ति झनै अनिवार्य बन्दै गएको र जनता यसैमा गोलबद्ध हुन समेत उनले सबैसँग अपिल गरे । केपी–पिके सरकारले मानवअधिकार र न्यायिक स्वतन्त्रताको धज्जी उडाउँदै आफैंले बनाएको नियम कानून कुल्चँदै फासीवादी बन्न पुगेको बताए ।
भेटमा तत्कालीन जनयुद्धका सहकर्मीबाटै नेकपा यसका नेताहरुमाथि दमन र हस्तक्षेपबारे राखिएको जिज्ञासामा प्रवक्ता प्रकाण्डले ‘जनयुद्धका सहकर्मीमध्ये निजी लाभ र स्वार्थमा फसेका प्रचण्ड–बादलहरुलगायत केही मान्छेहरुबाट अहिले जनतालाई पूर्णअधिकार सम्पन्न तुल्याउन र अलपत्रमा पारिएका क्रान्ति पूरा गर्न क्रान्तिको झण्डा उठाइरहेका हामीमाथि दमन र झुठा मुद्दा थोपर्ने शृंखला मच्चाउनु प्रतिक्रान्तिको उच्चतम् नमूना हो ।’
जनता छिट्टै सरकारको दमन र अत्याचारविरुद्ध प्रतिरोधमा उत्रने जिकिर उनको छ । उनले वर्तमान सरकार गठनदेखि नै राष्ट्रियता र जनजीविका संकटमा फस्दै गएको र अहिले आएर राष्ट्रियता सर्वाधिक कमजोर बनेको निस्कर्ष सुनाए । क्रान्तिकारी नेता कार्यकर्तामाथि सयौं झुठा अभियोग लगाउँदैमा नेपालीको क्रान्तिको बाटो अवरुद्ध नहुने धारणा प्रष्टसँग राखे । क्रान्तिलाई ड्यामेज गर्न सरकार षड्यन्त्र गर्न देशी र विदेशी दलाल र साम्राज्यवादीसँग हारगुहार गर्ने स्थितिमा पुगेको उनको तर्क छ ।
वार्ता टोली ः षड्यन्त्रको अर्को कडी
प्रवक्ता प्रकाण्डले आपूmहरु वार्ताको विरोधी कदापि नरहेको तर केपी–पिके सरकारले गठन गरेको वार्ता टोलीलाई षड्यन्त्रको एउटा कडी हो भने । ‘वार्ताविरोधी त हामी होइनौं । तर, सरकारी वार्ता टोली र गठन तरिका हेर्दा हामीलाई चाहिं पत्यार लागेको छैन । यसलाई हामीले सरकार पक्षको षड्यन्त्रको एउटा कडी हो भनेका छौं’ उनले भने । ‘खुट्टी’ देखेरै चाल पाए भनेजस्तै सरकारी वार्ता टोलीको रुप–रंग देख्दा यसले के गर्न खोज्दैछ भन्ने सजिलै बुझिएको बताए । सरकारले आन्दोलनरत पक्षसँग वार्ता गर्न भनेर पूर्वमन्त्री सोमनाथ पाण्डेको नेतृत्वमा एक वार्ता टोली गठन गरेलगत्तै नेता प्रकाण्डको यो प्रतिक्रिया आएको हो । उनले साँचो अर्थमा वार्ता सरकारले टोली गठन नगरेको दाबी समेत गरे । सरकारले सिके राउतजस्ता साम्प्रदायिक र क्षेत्रीयता पक्षसँग नेकपालाई तुलना गरेर गम्भीर गल्ती गरेको उनको भनाई छ । भेटका क्रममा राष्ट्रियता र स्वाधीनताको रक्षाको लागि सम्पूर्ण देशभक्त र राष्ट्रवादी शक्तिहरु एकजुट हुन अपिल गर्दै उनले पार्टी केन्द्रले सुरु गरेको ‘एकीकृत जनजागरण तथा संगठन सुदृढ र विस्तार अभियान’मा तीव्र गतिमा लाग्न पार्टी पंक्तिलाई निर्देश समेत गरेका छन् । यसअघि नै नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सरकारी वार्ता टोलीलाई गुलियो रस राखेर बनाएको विषको संज्ञा दिएका छन् । ‘सरकारले वार्ता गर्न बनाएको जार्ता टोली मिठाईको लेपन मिसाइएको विषको चक्की बाहेक अन्य केही होइन’ विज्ञप्ति जारी गर्दै महासचिव विप्लवले भनेका छन् ।