प्रकाण्डलाई संचारकर्मीसँग भेट गर्न रोक , विमानस्थलको रन वेबाटै प्रहरी भ्यानमा राखेर लगियो

काठमाडौं, १९ भदौ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डलाई आज बिहान मोरङको विराटनगर पुर्याइएको छ । बिहान ११ बजे विराटनगर विमानस्थलमा आइपुगेका प्रकाण्डलाई संचारकर्मीसँग भेट गर्न दिइएन । डीएसपी निशान थापाको नेतृत्वमा रिसिभ गर्न पुगेको प्रहरीे टोलीले प्रकाण्डलाई यात्रु कक्षको बाटो छलेर रन वेबाटै नजिकैको सैनिक (ब्यारेक)को गेटबाट बाहिर लगेको थियो । पूर्वमन्त्री समेत रहेका नेता प्रकाण्डको प्रतिक्रिया लिन दर्जन बढी संचारकर्मीहरु विमानस्थल परिसरमा उपस्थित थिए । तर रन वेबाटै गाडीमा राखेर अर्को बाटोबाटै नेता प्रकण्डलाई बाहिर निकालेका कारण संचारकर्मीले साक्षात्कार गर्न नपाएका हुन् ।
स्रोतका अनुसार अनुसार आजै भोजपुरका पठाइने बताइन्छ । मंगलबार बिहान पनि काठमाडौंमा पत्रकारसँग भेट दिएका थिएनन् । काठमाडौं प्रहरीले आन्तरिक उडानबाट सिधै भोजपुर लैजाने भनेर जानकारी दिएपनि विराटनगर लगिएको थियो । सोमबार सर्वोच्च अदालतको आदेशमा नुवाकोट सदरमुकाम विदुरबाट जिल्ला सरकारी वकिलको रोहवरमा साँझ रिहा भएका उनलाई पुनः गिरफ्तार गरी सोमबारै राति काठमाडौं ल्याई महानगरीय प्रहरी परिसर गौशाला वृत्तमा राखिएको थियो । उनलाई मंगलबार बिहान बुद्ध एयरको ७०५ को उडानबाट विराटनगर पुर्याइएको हो । केही ढिलाई गरी उडान भरेकोले उडान १०ः१० मात्र विराटनगरको लागि उडेको थियो । ११ बजे मात्र विराटनगर आइपुगिएको थियो ।
नेता प्रकाण्डलगायत केही केन्द्रीय नेताहरुलाई गत वर्षको प्रदेश सभानिर्वाचनका क्रममा उम्मेदवार लक्षित गरी बम विस्फोट गराएको अभियोग लगाइएको छ । त्यही अभियोगमा अनुसन्धानका लागि प्रकाण्डलाई नुवाकोटको विदुरबाट गिरफ्तार गरी यहाँ ल्याईपुर्याईको हो । आजै भोजपुर लगिने जनाइएको छ ।