ब्लूसाइन क्रसर उद्योगको आगजनीसँग मेरो कुनै सम्बन्ध छैनः शिलु

काठमाडौं, २१ भदौ । नेपाल कम्युनिस्ट पार्टीका नेतृ एवं पोलिटब्यूरो सदस्य उमा भुजेल ‘शिलु’ले काभ्रेको नमोबुद्ध नगरपालिकामा अवस्थित ब्लूसाइन क्रसर उद्योग र त्यसमा रहेका मेशिनरी सामानहरुमाथि भएको आगजनीसँग आफ्नो कुनै सम्बन्ध नभएको बताएकी छन् ।नेकपाका नेताहरुलाई उक्त आगजनीसँग जोडेर झुठा अभियोग लगाउनु नेकपाको पहलमा उठेको नेपाली क्रान्तिलाई बद्नाम र हतोत्साहित तुल्याउने प्रयासस्वरुप केपी–प्रचण्ड सरकारले अपनाएको हर्कतबाहेक अन्य केही नभएको बताइन् । उक्त नगरपालिका–६ स्थित चौकीडाँडामा गत बैशाख १ गते राति भएको आगजनी घटनासँग जोडेर अभियोग लगाई नेतृ शिलुलाई यही भदौ १२ गते काठमाडौंबाट गिरफ्तार गरेर काभ्रे प्रहरी हिरासतमा राखिँदै आएको छ । उद्योग नेपाली कांग्रेसका स्थानीय नेता कुन्साङ लामाको हो ।
उक्त गिरफ्तार र थुनुवा गैरकानूनी भएको जनाउँदै रिहाको गर्न माग राखेर सर्वोच्च अदालतमा दायर गरिएको बन्दी प्रत्यक्षीकरण रिटमाथि बहसको क्रममा सर्वोच्चमा उपस्थित गराइएका नेतृ शिलुले उक्त आगजनीसँग आफ्नो सम्बन्ध नरहेको स्पष्ट पारेकी छन् । अदालत परिसरमा संचारकर्मीलाई प्रतिक्रिया दिँदै सरकारले राजनीतिक प्रतिशोध साँधेर आफूमाथि आगजनी र विस्फोट गराएको झुठा आरोप लगाएको बताइन् । उक्त घटनाबारे आफूलाई केही थाहा नभएको र संलग्नताको कुरा कल्पनाबाहिरको विषय भएको बताइन् ।
वर्तमान दलाल संसदीय व्यवस्थाअन्तर्गत गठित सरकारले देश र जनताको आवश्यकता र आकांक्षा पूरा गर्न नसक्ने बताउँदै केपी–प्रचण्ड सरकारले नागरिकलाई कंगाल र राष्ट्रियतालाई कमजोर बनाउने आफूहरुको पूर्वधारणा अहिले पुष्टि हुँदै गएको बताइन् । ‘यो सरकारसँग को चाहिं नागरिक सन्तुष्ट छन् ? नदीनाला बेचेर खाने नेताहरुकै कारण नागरिकले महंगीको मार खेप्नुपरिरहेको छ’ शिलुले भनिन् । सरकार विस्तार टाट पल्टिने मार्ग लागिसकेको उनको भनाई छ ।
सरकारले आफैंले बनाएको कानून र न्यायालयको आदेश नमानेर फासीवादी दमनका उत्रेको बताउँदै अब नागरिक सरकारको दमन सहेर नबस्ने बताइन् । दमनको भाषा बोल्ने सरकारसँग डटने एक मात्र सच्चा भनेको शक्ति नेकपा भएको र अब दमन र हस्तक्षेपको प्रतिरोध गर्ने बताइन् ।
सर्वोच्च अदालतको यसअघिको आदेशबमोजिम शिलु र केन्द्रीय सदस्य टेकबहादुर केसी ‘आजाद’को हकमा दर्ता बन्दी प्रत्यक्षीकरण रिटमाथि बहस हुने भनिए पनि भोलि शुक्रबारसम्मका लागि स्थगित भएको छ । सरकार आफ्नो आयु लम्ब्याउन झुठा आरोपको साहरामा लिन पुगेको र यसले राष्ट्रवादी जनता र क्रान्तिलाई फाइदा पुग्ने उनको तर्क थियो । अाज उनलाई फर्काएर काभ्रे नै लगिएको छ ।