प्रकाण्डसंग बार एशोसियसन, मानवअधिकारकर्मी, नागरिक समाज, पत्रकारद्वारा भेट

काठमाडौं , २३ भदौ । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्डलाई जिल्ला प्रहरी दाङले गिरफ्तार गरेर हिजो साँझ दाङ ल्याएपछि कानुन व्यवसायी, मानवअधिकारकर्मी, पत्रकार, नागरिक समाज, दलित, अधिकारकर्मीहरु आज दाङ जिल्ला प्रहरी कार्यालयमा गएर भेटघाट गरेका छन् । उनीहरुले प्रकाण्डको अवस्थाका बारेमा व्यापक रुपमा चासो लिएका छन् । प्रकाण्डलाई गत साउन २२ गते गृहमन्त्रालयको निर्देशनमा प्रहरीले गैरन्यायिक रुपमा विनाकारण गिरफ्तार गरेर अहिलेसम्म अदालतको निर्देशन विपरित विभिन्न जिल्लामा घुमाइरहेको छ ।
सर्वोच्च अदालतले समेत पटकपटक छाड्न निर्देशन दिइरहेको बेलामा दाङका कानुनव्यवसायी, मानवअधिकारकर्मीले पनि प्रकाण्डको गिरफ्तारीप्रति निन्दा प्रकट गरेका छन् । राजनीतिक विचार आस्थाकै कारण उहाँलाई पटकपटक हडकडी लगाउनु कानुनी राज्यको उपहास भएको समेत उनीहरुले बताएका छन् ।
प्रकाण्डले पनि अधिकांश वकिलहरुले आफ्नो गिरफ्तारी गैरकानुनी, गैरन्यायीक भएकाले रिहाइ गर्न माग गरिरहेको भएपनि राज्यले राजनीतिक पूर्वाग्रहका कारण विभिन्न मुद्याहरु सिर्जना गरिरहेको बताए । उनले भने –“यो राज्यले गिरफ्तार गरे लगत्तै विनाकारण बन्दी प्रत्यक्षीकरण मुद्या दायर भइसकेपछि मेरो बारेमा वकिलहरुको बहस, लाइनले पनि सावित गरिसकेको छ, तर राज्यले छोडेन, जनताको तहबाट मेरो गिरफ्तारीप्रति विरोध जनाउनु स्वाभाविक हो ।” आफूहरुको विचार, कार्यक्रमले व्यापक जनताहरुलाई छुने देखेपछि राज्यले प्रतिबन्द लगाउदै विभिन्न बहानामा अल्झाउन खोजी अनावश्यक दःुख दिइरहेको उल्लेख गरे । भेटघाटका क्रममा उनले आफूलाई व्यक्तिगत अप्ठ्याराहरु खासै नभएको र राख्न खोज्नु भएन ।
बार एसोसियसन दाङका अध्यक्ष प्रदिप गौतमले सरकारमा विराजमान भएका व्यक्तिहरुको आधारमा शासन चल्नु हुँदैन त्यसकारण यो राजनीतिक मुद्या लगाएर नेताहरुलाई गिरफ्ता गर्नु गैर कानुनी रहेको बताए । नागरिक र राज्यका बीचमा जो अधिकारहरु छन् त्यो अधिकारलाई कुल्चिएर राज्यले राजनीतिक मुद्यालाई आधार बनाएर कुनै पनि अभियोग लगाउन नहुने पनि उनले बताए ।
प्रेस स्वतन्त्रता सेनानी तथा वाम बुद्धिजीवि सुशिल गौतमले राजनीतिक विचारका आधारमा कुनै पनि व्यक्तिलाई राजनीतिक मुद्या लगाउन नहुनेमा जोड दिए । मानवअधिकार सञ्जाल दाङका अध्यक्ष केशव कुमार शर्माले गैरकानुनी रुपमा गरिएको गिरफ्तारी मानवअधिकारका विरुद्ध रहेको बताए ।
नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य प्रकाण्डलाई भेट्न नागरिक समाजका जिल्ला संयोजक चन्द्रराज पन्त, उद्योग वाणिज्य संघ दाङका अध्यक्ष नारायण भुसालसहित पदाधिकारीहरुका टीम, नागरिक समाजका श्रिमण न्यौपाने, जनअधिकार अभियान मञ्च दाङका अध्यक्ष मेघराज घिमिरे, मानवअधिकारकर्मी निर्मला डाङी, उषा गौतम, दलित अधिकारकर्मी निर्मल नेपाली, इन्सेकका प्रतिनिधि जेएन सागर,नेपाल पत्रकार संघ दाङका सचिव भुपेन्द्र वली, क्रान्तिकारी पत्रकार संगठनका जिल्ला अध्यक्ष जानकी चौधरी लगायत पत्रकारहरु, टीम आआफ्नो समयअनुसार पालैपालो बिहानदेखि दिउसोसम्म भेटघाट गरि जानकारी लिएका छन् ।