प्रकाण्डको रिहाईको माग गर्दै चौथोपटक सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दायर

काठमाडौं , २४ भदौ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डको रिहा गर्न माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दर्ता गरेको छ । प्रकाण्डलाई सरकारले गैरकानूनी रुपमा गिरफ्तार गरी गैरन्यायिक ढंगबाट प्रहरी हिरासतमा राखेको भन्दै उनका भाई विरेन्द्र विश्वकर्माले आइतबार सर्वोच्च अदालतका उक्त रिट दर्ता गरेका हुन् । आगजनीको अभियोगमा नुवाकोट जिल्ला प्रहरीको हिरासतमा राखिएको बेला रिहा गर्न दिएको सर्वोच्चको आदेशपछि नुवाकोटको सदरमुकाम विदुरबाट रिहा भएलगत्तै गिरफ्तार गरी अर्को बम विष्फोटको अभियोगमा भोजपुर जिल्ला अदालतमा पेश गरिएको थियो । भदौ २० मा भोजपुर अदालतले पनि रिहाको आदेश दियो र आदेशपछि रिहा भएलगत्तै अदालतपरिसरबाटै पुनः गिरफ्तार गरी शुक्रबार दाङ जिल्ला पुर्याइएको छ ।
दाङमा प्रकाण्डलाई बम विष्फोटको अभियोग लगाइएको छ । हाल उनलाई दाङ सदरमुकाम घोराहीमा जिप्रका हिरासतमा राखिएको छ । उक्त गिरफ्तार गैरकानूनी रहेको र गैरन्यायिक ढंगले हिरासतमा थुनामा राखेको जनाउँदै थुनामुक्त गर्न विश्वकर्माले सो रिट दर्ता गरेका हुन् ।
गत साउन २२ गते साँझ साढे ७ बजे काठमाडौंको टौदहनजिक चाल्नाखेलबाट गिरफ्तारीमा परेका प्रवक्ता प्रकाण्डलाई थुनामा राख्नुपर्ने कुनै कारण र आधार नदेखिएको ठहर गर्दै सर्वोच्च अदालतले भदौ १, ७ र १८ गते रिहा गर्न पटकपटक आदेश दिएको थियो । भोजपुर अदालतले भदौ २० गते रिहा गर्न आदेश दिएको थियो । तर रिहालगत्तै अदालत परिसरबाटै गिरफ्तार गरेको थियो । त्यसपछि करिब ४८ घण्टापछि शुक्रबार साँझ मात्र दाङ सदरमुकाम घोराहीमा पुर्याइएको थियो । तर उनलाई रिहालगत्तै अर्को अभियोग रहेको भन्दै सरकारले विभिन्न जिल्ला घुमाउँदै आइरहेको छ । पुनः गिरफ्तारीमा प्रहरी अधिकारीहरुले ‘माथि’ (गृह मन्त्रालय)को आदेश भन्दै आएको छ । दाङ प्रहरीले आजै म्याद थपको लागि प्रवक्ता प्रकाण्डलाई जिल्ला अदालतमा पेश गरिएको बताइएको छ ।
नेकपाले पार्टीका प्रवक्ता प्रकाण्डमाथि सरकारले राजनीतिक प्रतिशोधका आधारमा झुठा अभियोग लगाउँदै दुःख दिएको भन्दै बिनासर्त तत्काल स–सम्मान रिहा गर्न माग गर्दै आइरहेको छ । गिरफ्तारीको विरोधमा गत साउन २९ गते नेकपाले नेपाल बन्द कार्यक्रमसमेत सम्पन्न गरिसकेकोछ ।