क्रान्तिकारी पत्रकार संगठनद्वारा पत्रकार बस्नेतको रिहाईको माग

काठमाडौं, २७ भदौ । क्रान्तिकारी पत्रकार संगठन नेपालको ललितपुर जिल्ला शाखाले प्रहरी हिरासतमा थुनामा राखिएका पत्रकार राजु बस्नेतको अविलम्ब रिहा गर्न माग गरेको छ । बस्नेतलाई प्रकाशित समाचारकै आधारमा गिरफ्तार गरी हिरासतमा राखेको जनाउँदै गिरफ्तारीको घोर विरोध गरिएको छ । संगठन ललितपुरका अध्यक्ष विनोद श्रेष्ठले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै प्रकाशित समाचारबारे अन्तिम टुंगो लागाउने निकाय प्रेस काउन्सिल हुँदाहुँदै गलत तरिकाले पत्रकार बस्नेतलाई थुनामा राखेको भन्दै अविलम्ब रिहा गरेर स्वतन्त्र प्रेसको सम्मान गर्न सरकारसँग माग गरेका छन् । पत्रकारलाई हत्कडी लगाउनुले सरकारको रवैया फासीवादी चरित्र भएको अध्यक्ष श्रेष्ठले मिर्मिरे अनलाइनलाई प्रतिक्रिया दिएका छन् ।
प्रकाशित समाचारप्रति फरक मत भएमा काउन्सिलमार्फत समस्या समाधान गर्न कानूनी विधि र प्रक्रिया रहेको अवस्थामा त्यसलाई बेवास्ता गर्दै पूर्ण स्वतन्त्र प्रेसको घाँटी निमोठ्ने र संचार क्षेत्रलाई पञ्चायतभन्दा पछाडि षडयन्त्र भएको जारी विज्ञप्तिमा उल्लेख छ । प्रकाशित समाचारको विषय विवादलाई कानूनी प्रावधानअनुरुप प्रेस काउन्सिलमार्फत टुंग्याउन पनि आग्रह गरिएको छ । भदौ १ बाट लागू भएको भनिएको मुलुकी अपराध (संहिता) ऐन २०७४ को विद्युतीय कारोबार ऐनमा गरिएको केही प्रावधान खारेज गरी पूर्ण स्वतन्त्र प्रेसमैत्री बनाउन माग राखी सिंगो पत्रकार जगत आन्दोलित भइरहेको स्मरण समेत विज्ञप्तिमार्फत गराइएको छ ।
ललितपुरको हरिसिद्धी इट्टा तथा टायल उद्योगको जग्गा खरिदबिक्रीसम्बन्धी विवाद परेको विषयको खोजतलास न्यूज डटकममा साभार समाचार प्रकाशित गरेकै आधारमा परेको जाहेरीमा काठमाडौं जिल्लाबाट पूर्जी जारी गराएर गिरफ्तार गरी हाल बस्नेतलाई आएको छ । उनलाई जिल्ला सरकारी जिल्ला वकिलको कार्यालयमा मंगलबारै बयान लिइसकिएको छ ।