पत्रकार तिलक अधिकारी, रुपा गुरुङ र राज सापकोटाको पार्टी सदस्यता खारेज

२०७५ आश्विन १४ गते, आईतवार

काठमाण्डौ, १४ असोज । नेपाल कम्युनिस्ट पार्टी मकवानपुर जिल्ला कमिटीले जिल्ला सदस्य तिलक अधिकारी र रुपा गुरुङसहित तीन जनालाई निस्कासन गरेर साधारण सदस्यसमेत नरहने गरी कारवाही गरेको छ । त्यस्तै क्रान्तिकारी पत्रकार संगठन नेपालको मकवानपुर जिल्ला सचिव राज सापकोटालाई पनि निस्कासन कारवाही गरेको छ नेकपा मकवानपुर जिल्ला सेक्रेटरी अनुरागले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै अधिकारी, गुरुङ र सापकोटाले पार्टीको निर्णयविरुद्ध अराजक गतिविधि गरेको र पार्टीको पत्रकारहरुको पेशागत आधिकारिक संगठन प्रकाश डुम्रेको अध्यक्षमा गठित क्रान्तिकारी पत्रकार संगठन, नेपालको विरुद्धमा चलाइएको गुटबन्दीमा सहभागी भई पार्टी निर्णयविरुद्ध हर्कत गरेको ठहरसहित निष्कासन गरेर कारवाही गरेको जानकारी दिएका छन् ।
तीनै जना आजबाट पार्टीको कुनै जिम्मेवारीमा नरहेको र पार्टीसँग सम्बन्धित भएर कुनै किसिमको सम्बन्ध नराख्न समेत सबै पक्षसँग सूचित गरिएको जानकारी दिइएको छ । साथै पार्टी केन्द्रले क्रान्तिकारी पत्रकार संगठन नेपालको तेस्रो सम्मेलनबाट निर्वाचित प्रकाश डुम्रेको अध्यक्षताको नेतृत्लाई वैधानिक दिइसकिएको समेत स्मरण गराउँदै अन्य गुट बनाउनु पार्टी निर्णयविरुद्धको अराजकता भएको स्पष्ट पारेका छन् । पार्टी संगठनको नीति, नियम र विधान र पार्टी निर्णयविरुद्ध डिल्लीराज रावतको अध्यक्षतामा अर्को संगठन गरेर अजराजक गतिविधिमा संलग्न भएको पुष्टि भएकोले मकवानपुर जिल्ला पार्टीका सदस्य तिलक अधिकारी, रुपा गुरुङ र क्रान्तिकारी पत्रकार संगठनको मकवानपुर जिल्ला सचिव राज सापकोटा समेतलाई पार्टी जिम्मेवारीबाट साधारण सदस्य समेत नरहने गरी संगठनबाट निष्कासन गरिएको यसै विज्ञप्तिमार्फत जानकारी गराउँदछौ’ सेक्रेटरी अनुरागद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रियाहरु

[anycomment]